मनहरीको अध्यक्ष बन्ने न्यौपानेको आकांक्षा
मकवानपुर । सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै मकवानपुरमा चुनावी माहोल सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेसँगै जिल्लाको विभिन्न स्थानीय तहमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटिसकेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार एकराज उप्रेतीसँग मनहरी गाउँपालिकाको अध्यक्ष पदमा २९१ मतले पराजय व्यहोरेका शंकर न्यौपाने पुनः यस पटक पनि अध्यक्ष पदका लागि होमिने संकेत गरेका छन् ।
अखबार हबसँगको कुराकानीमा न्यौपानेले भने–‘यसपाली अध्यक्षको टिकट पाउनु मेरो अधिकार हो सबैको सहमतिमा मलाई टिकट उपलब्ध गराउन आग्रह गर्दछु ।’ ‘अर्काे पटक मेरो नैतिकताले दिँदैन त्यसैले यस पटक अध्यक्षका लागी मेरो दाबी हो ।’ उनले भने ।
अध्यक्ष पदका लागि यस अघि नै घोषणा गरिसकेका अर्का नेता भरत पराजुलीलाई इंकित गर्दै उनले भने–‘उहाँलाई २०७४ को निर्वाचनमा छाडेकै हो, मान्नु भएन । अहिले मेरो र उहाँको लडाईँ हुँदा अरुले फाइदा लिन सक्छन् यसले घाटा दुवैलाई हुन्छ ।’
आम कार्यकर्ताले रुचाएका व्यक्ति मनहरी गाउँपालिका मात्र नभई प्रदेशमै लोकप्रिय भएका कारण उहाँलाई यसपटक सबैको सहमतिमा प्रदेशमा लैजान समेत उनले अनुरोध गरेका छन् ।
२०४५ सालमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट भुटनदेवी माविको कमिटीबाट राजनीति सुरु गरेका न्यौपाने नेपाली काँग्रेसको १२ औं अधिवेशनमा क्षेत्रीय कोषाध्यक्ष हुँदै १३ औं अधिवेशनमा क्षेत्रीय सभापतिमा पराजित व्यहोरेका थिए । उनी हाल सम्पन्न नेपाल काँग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमासमेत निर्वाचित भएका छन् ।







