बागमती प्रदेशसभा बैठक आज बस्दै, प्रतिपक्षी असन्तुष्ट

अखबार हब
२०७८ फाल्गुन २९, आईतवार १०:३४

मकवानपुर । बागमती प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । २०७८ पुस ८ गते यता बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन ।

पुस ७ र ८ गते दुई दिन चलेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेपछि बैठक अनिश्चित भएको थियो । प्रमुख प्रतिपक्षीले सरकारसँग विभिन्न विषयको जवाफ माग गरेका छन् । सरकारले जवाफका लागि आफूहरू तयार भएको जनाए पनि विपक्षी दलहरू अझै असन्तुष्ट छन् ।

नेकपा एमालेले आफ्नो सरकारले ल्याएको योजनाहरू कटौती प्रति असन्तुष्टि जनाउँदै आएको छ । गौरवको आयोजनाको रूपमा रहेको सुरुङ मार्ग र विद्युतीय बस खरिदको विषय स्थगित गर्ने सरकारी निर्णयपछि प्रतिपक्षीमा असन्तुष्टि देखिएको हो । यही विषयलाई लिएर प्रतिपक्षीले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।

यसअघि दुई पटक सहमति भएरै बैठक आह्वान भए पनि प्रतिपक्षीले अवरोध गर्ने संकेत पाएपछि अन्तिम समयमा स्थगित गरिएको थियो । लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रदेशसभा बैठक फागुन ४ गते बसेको सर्वदलीय बैठकमा सहमति जुटेको थियो । प्रदेशसभा अनिश्चित बन्दा कानुन निर्माण प्रक्रिया ठप्प छ । एमालेले रकमान्तरको विषयमा सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक दीपक निरौलाले मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्नुपर्ने, आफ्नो नेतृत्वको सरकारले ल्याएको योजना कटौती गर्नुपर्ने कारण र नेकपा (एस)को कमिटी गठन भएको स्थानमा मात्रै बजेट दिने भनाइप्रति मुख्यमन्त्रीले माफी माग्नुपर्ने बताए । ‘हाम्रो मागबारे सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्छ । भइरहेको कामलाई रोक्ने गलत नियत सरकारको देखियो,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*