हेटौंडाको नयाँ मेयरमा एमालेका तीन आकांक्षी
मकवानपुर । वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय भएसँगै मकवानपुरमा राजनीतिक दलहरूको गतिविधि बाक्लिँदै छ । जिल्लाका १० पालिकामध्ये एमाले र कांग्रेसबीच दमदार प्रतिस्पर्धा हुने गत निर्वाचनकै परिणामले देखाउँछ । मकवानपुरका स्थानीय तहमा एमालेको बहुमत छ । २०७४ सालको निर्वाचनमा एमालेले ६ पालिका, कांग्रेस र माओवादीले दुई–दुई पालिका जितेका थिए ।
हाल एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)मा एमालेबाट निर्वाचित दुई पालिका अध्यक्ष गएका छन् । पार्टी विभाजनपछि पनि एमाले बहुमतमै छ । एमालेको सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हेटौंडा उपमहानगरपालिका हो । २०४६ मा बहुदल स्थापनापछि ०४९ र ०५४ मा भएको निर्वाचनमा हेटौंडामा एमाले विजयी बनेको थियो । २० वर्षपछि २०७४ मा भएको निर्वाचनमा पनि एमालेका मेयर र उपमेयर नै निर्वाचित भए ।
आगामी निर्वाचनमा भने एमालेबाट हाल सम्म तीन जना नेता मेयरका आकांक्षी देखिएका छन् । एक वर्षदेखि पार्टीभित्र र नेताहरूसँग संविधानसभा सदस्य तथा एमाले बागमती प्रदेशका संगठन विभाग प्रमुख अनन्त पौडेलले मेयर हुने इच्छा देखाएको चर्चा छ । पौडेल संविधानसभा सदस्यहरू मिलेर गठन गरिएको संस्था संविधानसभा सदस्य परिषद् संयोजक हुन् । उनले हेटौंडामा विकास निर्माणका ठूला÷साना आयोजना, जनताका आवश्यकता, अपेक्षा पूरा गर्ने भन्दै आश्वासन बाँड्न थालिसकेको चर्चा छ ।
वर्तमान मेयर हरिबहादुर महत पुनः चुनाव लड्ने उनकै सचिवालयले जनाएको छ । मेयरको दौडमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल पनि छन् । करिब ३ अर्ब बजेट रहेको उपमहानगरको नेतृत्व कस्ले हात पार्ने भन्नेमा तीन जना नेताहरूले पार्टीमा लबिङ बढाएको बुझिन्छ ।
पौडेल र खुलाल एमालेभित्र ओली समूहका पुरानो अनुहार हुन् । महत विगतमा माधव नेपाल पक्षका मानिए पनि मेयरमा निर्वाचित भएपछि भने कतै खुलेका थिएनन् । मेयरका आकांक्षी महत, पौडेल र खुलाल आन्तरिक रूपमा आफूनिकट नेताहरूसँग लबिङ गरिरहेका छन् । एक एमाले जिल्ला सदस्यका अनुसार पौडेलले पहिल्यैदेखि मेयर हुने तीव्र इच्छा बोकेका छन् । दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा उनले माओवादी उम्मेदवारलाई पराजित गरेका थिए ।
अघिल्लो निर्वाचनमा गठबन्धनलाई पराजित गरेका कारण पनि एमालेमा मेयरका लागि धेरै आकांक्षी हुने आकलन छ । तर, ठूला नेताहरूले नै मेयरमा दाबी गर्न थालेपछि भने अन्यलाई बोल्न समस्या भएको बुझिन्छ । हक्की स्वभावका महतले पुनः मेयरमा दोहोरिने चाहना राखेका छन् ।
निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको गठबन्धन भए महतलाई नै टिकट दिनुपर्ने आवाज कतिपयले पार्टीभित्र उठाइरहेका छन् । महतले अघिल्लो निर्वाचनमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दराम पराजुलीलाई ६ सय १५ मतले हराएका थिए ।







