मनहरीको एकै वडामा अध्यक्ष बन्न काँग्रेसका तीन आकांक्षी

अखबार हब
२०७८ फाल्गुन २६, बिहीबार २०:३७

मकवानपुर । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै मकवानपुरको गाउँगाउँमा चुनावी चर्चा बढेको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नं. १ मा आगामी निर्वाचनका लागि काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदका लागि हालसम्म तीन जना आकांक्षीहरुको नाम चर्चामा रहेको पाइएको छ ।

नेपाली काँग्रेसबाट मनहरी १ को वडा अध्यक्षमा निर्वाचित शिवप्रसाद खनाल, वडा सदस्य नवराज पौडेल र मनहरी १ काँग्रेसका पूर्व सभापति रामकुमार उप्रेती आगामी निर्वाचनमा अध्यक्ष पदको टिकट हात पार्न आन्तरिक गृहकार्यमा जुटेका छन् ।

अध्यक्षका दुई आकांक्षी पौडेल र उप्रेती नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ अर्थात् संस्थापन पक्षका हुन् भने खनाल इतर पक्षका आकाँक्षी हुन् ।

खनाल २०५४ सालको निर्वाचनमा साबिक हाँडीखोला–३ को अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका उनी एमालेका उम्मेदवारसँग झिनो मतले पराजित भएका थिए । त्यस लगतै राजनीतिमा निष्कृय रहेका उनी पुनः २०७४ मा सक्रिय राजनीति गर्दै नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनी मनहरी १ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

अर्का आकांक्षी पौडेल २०७२ सालमा नेपाली काँग्रेस प्रवेश गरेसँगै ०७४ को स्थानीय तहको निर्वाचनमा सदस्य पदमा निर्वाचित जनप्रतिनिधि हुन् । साथै उनी हालै सम्पन्न नेपाली काँग्रेसको १४ औं अधिवेशनबाट मकवानपुर प्रतिनिधिसभा २(ख) बाट निर्वाचित सचिव समेत रहेका छन् ।

त्यस्तै अर्का आकांक्षी उप्रेती नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाल जीवन ज्योति मावि मकरीको २०५७ सालमा उपसभापतिको भूमिका निर्वाह गर्दै २०६६/०६८ मा साविक हाँडीखोला २ मकरीको तरुण दलको अध्यक्ष बन्दै सक्रिय राजनीतिमा होमिएका हुन् । उनले २०७५ मा नेपाली काँग्रेस मनहरी १ को सभापति भई एक कार्यकाल जिम्मेवारी निर्वाह गरिसकेका छन् । हालै सम्पन्न अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिसमेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*