बागमतीमा एसईई परीक्षाको तयारी तीव्र

अखबार हब
२०७८ फाल्गुन २४, मंगलवार ११:४५

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने एसईई परीक्षाको तयारी तीव्र बनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक वर्षदेखि प्रदेश सरकारलाई केही जिम्मेवारी दिएसँगै तयारीलाई तीव्र बनाइएको हो।

शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले एसईईका लागि उत्तर पुस्तिका छपाईको कामको सुरुआत गरिसकेको छ। चैत पहिलो हप्ताभित्र प्रदेशका १३ वटै जिल्लाका सदरमुकाममा उक्त उत्तर पुस्तिका पुगिसक्ने शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका निमित्त निर्देशक पूर्णबहादुर दर्जीले बताए। ‘‘राष्ट्रिय परीक्षा बोर्डले प्रदेशलाई एसईई परीक्षा सञ्चालनका लागि केही जिम्मेवारीहरू दिएको छ। हामीले सोही अनुसार तयारी शुरू गरेका छौँ,’’ उनले भने, ‘‘कोरोनाका कारण अघिल्लो दुई वटा एसईई परीक्षाहरू भएन। यो पटक अवस्था सामान्य भएको छ। कोरोनासम्बन्धी सरकारले तय गरेको मापदण्ड अनुरूप नै परीक्षाहरू सञ्चालन हुनेछन्।’’

गत वर्षहरूमा बोर्डले नै सम्पूर्ण तयारी गर्ने गरेको थियो। बोर्डले प्रदेश सरकालाई परीक्षा सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने, प्रदेशभर परीक्षा केन्द्र निर्धारण, मापदण्ड विपरीत काम गर्नेलाई कारबाहीको लागि सिफारिस गर्ने अधिकार दिएको उनले बताए।

प्रदेश सरकारले कुनै पनि केन्द्रमा अनियमितता भएको पाएमा केन्द्र नै परिवर्तन गर्न सक्ने अधिकार प्राप्त गरेको छ। साथै बोर्डले प्रदेश सरकारलाई परीक्षार्थीको प्राप्ताङ्क रुजु गर्ने सम्मको अधिकार दिएको छ। उत्तर पुस्तिका परीक्षण गरेर प्रदेशलाई नै प्राप्ताङ्क रुजुका लागि पठाउने व्यवस्था रहेको निर्देशक दर्जीले बताए। नतिजा प्रकाशनको लागि प्रमाणीकरणको काम मात्रै अब परीक्षा बोर्डले गर्नेछ।

एक लाख बढीले परीक्षा दिँदै
बागमती प्रदेशका १३ जिल्लाबाट एक लाख भन्दा बढी परीक्षार्थीहरूले परीक्षा दिनेछन्। परीक्षामा बागमती प्रदेशका एक लाख सात हजार भन्दा धेरै परीक्षार्थी सहभागी हुँदै छन्। प्रदेशमा एसईईको लागि चार सय २७ वटा परीक्षा केन्द्र रहने उनले बताए।

परीक्षामा काठमाडौंबाट ३७ हजार दुई सय ९७ जना परीक्षार्थी सहभागी हुँदैछन् भने १२० वटा परीक्षा केन्द्र तोकिएको छ। यस्तै २३ वटा परीक्षा केन्द्र रहेको भक्तपुरमा पाँच हजार ९ सय ३४ जना परीक्षार्थी, ललितपुरबाट १० हजार एक सय १७ जना, ३४ वटा परीक्षा केन्द्र तोकिएको छ। काभ्रेबाट ४४ वटा केन्द्र मार्फत छ हजार नौ सय ७६ जना, सिन्धुपाल्चोकबाट २३ वटा केन्द्र मार्फत चार हजार चार सय जना, नुवाकोटबाट १४ वटा केन्द्र मार्फत चार हजार नौ सय ५२ जना परीक्षार्थी सहभागी हुँदै छन्। त्यसैगरी धादिङमा २६ वटा केन्द्र तोकिएको छ भने छ हजार २ सय ५३ जनाले परीक्षा दिँदै छन्। मकवानपुरबाट सात हजार एक सय ३८ जना परीक्षार्थी २४ वटा केन्द्र मार्फत एसईईमा सहभागी हुँदैछन् भने चितवनमा ४२ वटा केन्द्रबाट १२ हजार भन्दा धेरै विद्यार्थी सहभागी हुनेछन्।

एसईई परीक्षा सञ्चालनका लागि रामेछापमा २१, दोलखामा १९ र सिन्धुलीमा २६ वटा केन्द्र तोकिएको छ। क्रमशः तीन हजार ३७५ जना, तीन हजार १२४ जना र पाँच हजार ७८७ जनाले परीक्षा दिँदै छन्। यस्तै सबैभन्दा कम रसुवा जिल्लामा पाँच वटा मात्रै केन्द्र तोकिएका छन् भने ७५६ जना परीक्षार्थी एसईईमा सामेल हुने दर्जीले बताए। प्रदेश भरी रहेका कारागारमा रहेका कैदीहरूले पनि एसईई दिने गरेका छन्। तर यसको यकिन तथ्याङ्क भने आउन बाँकी रहेको उनले बताए। तयारीकै क्रममा परीक्षा केन्द्र यकिनदेखि उत्तर पुस्तिका छपाई सम्मको काम अन्तिम चरणमा पुगेको दर्जीको भनाई छ।

यसमा तपाइको मत

Your email address will not be published.


*