चर्चित चित्लाङको बाख्रा फार्म जसले ७८ वर्षपछि पानी पायो

अखबार हब
२०७८ फाल्गुन २२, आईतवार ११:१५

मकवानपुर । मकवानपुरको चित्लाङस्थित बाख्रा विकास फार्मले स्थापनाको ७८ वर्षपछि बल्ल पानी पाएको छ । बाख्रा, भेडा र खरायो पालन गर्दै आइरहेको सरकारी फार्ममा ७८ वर्षपछि पानी उपलब्ध भएको हो । नेपालकै पहिलो यो बाख्रा फार्म वि.सं. २००१ सालमा स्थापना गरिएको हो ।

तीनसय पाँच रोपनी क्षेत्रफलमा फैलिएको फार्मको एक सय ८ रोपनी चरिचरण क्षेत्र छ । चरिचरण क्षेत्रमा पानीको अभावले हिउँदमा खडेरी लाग्ने गरेको छ । खडेरी हटाउन फार्मलाई पानीको ठूलो आवश्यकता थियो । तर, फार्मको प्रबन्धक भएर आएका कयौंले सरकारसँग पानीको व्यवस्था गरिदिन पहल गर्दै आएपनि कुनै सरकारले यतिका वर्षसम्म पानीको व्यवस्था गरेको थिएन ।

‘पानी नहुँदा हिउँदका ५ महिना बाख्रा, भेडाहरुले चरिचरण क्षेत्रमा पोषिलो हरिया घाँस खान पाएका थिएनन् । मकै, जई घाँस रोपेपनि पानी नहुँदा उम्रिने सम्भावनै रहेन । बाख्रा, भेडाहरुलाई त पोषिलो कुरा खुवाउनु पर्ने हुन्छ । खानेपानी पनि खोल्साबाट तानेर ल्याउँथ्यौं । सिचाईं गर्न सकिएको थिएन्’, फार्मका प्रबन्धक डा. बब्लु ठाकुरले भने । उनका अनुसार फार्म ७८ वर्षसम्म पानीबिनै खडेरी भएको चरिचरण क्षेत्रका रुपमा चलेको थियो ।

समुन्द्री सतहबाट साढे १७ सय मिटर उचाईमा रहेको फार्मले अहिले एकसय ३८ मिटर गहिरो ‘बोरिङ’ गरेर पानी निकाल्न सफल भएको प्रबन्धक ठाकुरले बताए । शुक्रबार त्यसको परीक्षण भयो ।

पानी निकाल्न फार्मका कर्मचारीले धेरै दुःख झेल्नु परेको उनले सुनाए । प्रदेशको तत्कालीन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय (हाल कृषि तथा पशुपन्छी)द्वारा आव २०७७/०७८ मा बिनियोजित २० लाख बजेटबाट फार्मले एकसय ३८ मिटर खाडल खनेको हो । ‘२० लाख रुपियाँ खर्चेर डाँडामा खाडल खनेपनि पानी भने निस्किएन । पानी तान्ने मोटर चलाउन थ्री फेज विद्युत् नहुँदा पानी ननिस्किएको हो’, ठाकुरले भने ।

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रसँग थ्री फेज विद्युत बिस्तारको माग गर्दै फार्मले दर्जनौंपटक अनुरोध गरेको ठाकुरले स्मरण गरे । एक वर्षदेखि अनुरोध गरेपनि छिमेकी सरकारी कार्यालय प्राधिकरणले कानमा तेल हालेर बसेकोमा उनले दुःखेसो गरे ।पानी निकाल्न नसकिने भो भनेर आशा मारिसकेको अवस्थामा केही समयअघि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल र मन्त्रालयका सचिव रुद्रसिं तामाङ फार्ममा पुगेका थिए । ठाकुरले पानी निकाल्न नसकिरहेको अवस्थाबारे जानकारी गराएपछि सचिव तामाङले दुई महिनाअघि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई जानकारी गराएको बताए ।

सचिव तामाङले फार्ममा अब थ्री फेज विद्युत जोडिन्छ भनेर हिँडेको हप्ता दिनभित्र वितरण केन्द्रले थ्री फेज लाइन जोडेको र मोटर चलेपछि फार्ममा पानी आएको ठाकुरले जानकारी दिए ।

पानी निस्किए पनि चरिचरण क्षेत्रसम्म पानी पु¥याउन पाइप बिस्तारको समस्या रहेकोमा चालु आव २०७८/०७९ मा मन्त्रालयले दिएको पाँच लाखमध्ये एक लाख रुपियाँ विद्युत बिस्तारमा खर्च भएको र चार लाख रुपियाँ मात्रै बाँकी रहेको उनले बताए ।

उनका अनुसार मकै र जई घाँस लगाइएको स्थानसम्म पानी पु¥याउन ३० लाख रुपियाँ आवश्यक रहेको प्राविधिक लागत इस्टिमेट देखिएको छ । पाइप विस्तार गर्न आवश्यक बजेटको व्यवस्था गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईंले प्रतिबद्धता व्यक्त गरेका छन् ।२०५६ साल साउन १६ गतेबाट बाख्रा विकास फार्मको नामले सञ्चालित फार्मलाई सरकारले २०५८ सालमा भेडाहरुलाई विस्थापित गरेर बाख्रा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिएको थियो । त्यसयता फार्मले बाख्रासँगै भेडा र खरायो पनि पालन गर्दै आइरहेको छ । फार्ममा देशभरबाट भेटेरिनरी विद्यार्थी अध्ययन, अनुसन्धानका लागि आउने गरेका छन् । एउटा अनुसन्धान केन्द्रका रुपमा विकासहुँदै आएको फार्ममा हाल विभिन्न जातका दुईसय ९८ वटा बाख्रा, बरुवाल जातको ५६ वटा भेडा, ६३ वटा खरायो छन् । चित्लाङ बाख्रा फार्म, पर्यटकीय स्थलका रुपमा देशभर चर्चित छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*