विवादपछि स्थगित भयो कांग्रेस सप्तरीको निर्वाचन

अखबार हब
२०७८ फाल्गुन २१, शनिबार १९:५१

सप्तरी । नेपाली कांग्रेस सप्तरी जिल्ला समितिको शनिबार भइरहेको निर्वाचनमा विवाद भएपछि मतदान स्थगित भएको छ ।

रूपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा भइरहेको निर्वाचनमा विवाद बढ्दै गएर हात हालाहालकै स्थिति आएपछि मतदान स्थगित गरिएको हो । करिब ६ सय मत खसेपछि विवाद भएको थियो ।

संस्थापन पक्षका कार्यकर्ताले नक्कली मतदाता पठाएर मत हाल्न लगाएको भन्दै संस्थापन इतर समूहले मतदानमा रोक लगाउन भनेपछि विवाद भएको हो । विवादका क्रममा केही मतपत्र च्यातिएको छ ।

विवादकै क्रममा दुई सय मतपत्र लुटिएको निर्वाचन समितिले जनाएको छ । प्रतिनिधि सभा सदस्यसमेत रहेका संस्थापन इतरका नेता तेजुलाल चौधरीले संस्थापन पक्षले नक्कली मतदातालाई मत हाल्न लगाएर धाँधली गर्न खोजेको बताए । उनले जसले खसाले पनि भयो, जति खसाले पनि भयो भन्ने स्थिति देखिएको उनले बताए ।

केन्द्रीय सदस्य समेत रहेका संस्थापन पक्षका नेता दिनेश यादवले खुल्ला ठाउँमा निर्वाचन गर्दा यस्तो समस्या देखिएको बताए । उनले आफूहरूमाथि लगाएको आरोप निराधार रहेको दावी गरे ।

‘निर्वाचन नै अव्यवस्थित भयो’ यादवले भने, ‘अव्यवस्थितकै कारण यस्तो अवस्था आएको हो ।’ सप्तरी कांग्रेसमा २५ सय ६८ मतदाता छन् । स्थगित भएको निर्वाचन कहिले गर्ने सन्दर्भमा छलफल भइरहेको निर्वाचन समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*