बुढीचौरमा प्याराग्लाइडिङको सफल परीक्षण
मकवानपुर । मकवानपुरगढी गाउँपलिका–८ बुढीचौरमा प्याराग्लाइडिङको परीक्षण सफल भएको छ ।
शनिबार भएको सोनाम ल्होछार सांस्कृतिक कार्यक्रममा बढीचौरको डाँडामा पहिलो पटक प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको हो ।
गाउँपालिको बजेटमार्फत् उक्त प्याराग्लाडिङको परीक्षण भएको हो । बुढीचौरको युल्जाङ डाँडाबाट उडान भएको प्याराग्लाइडिङ बुढीचौरकै खेलमैदानमा ल्यान्ड गरिएको थियो ।
प्याराग्लाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न परीक्षण उडान गरिएको हो । परीक्षण सफल भएसंगै व्यवसायीक प्याराग्लाडिङ सञ्चालन गर्ने गाउँपालिकाको तयारी रहेको छ ।
मकवानपुरगढीमा पर्यटक भित्र्याउनका लागि धार्मिक तथा ऐतिहासिक पर्यटनको प्रचुर सम्भावना रहेको छ । उक्त गाउँपालिकामा नेपालको ऐतिहासिक मकवानपुरगढी दरबार,ढुङ्गे गढी,कडा चट्टानले बनेको ऋृषेश्वर गुफा,मनकामना मन्दिर लगाएतका रमणिय पर्यटकीय स्थलहरु रहेका छन् ।







