कांग्रेसको कैलाली सभापतिमा देउवा पक्षका भट्ट विजयी
धनगढी । नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार नारायणदत्त भट्ट विजयी भएका छन् ।
बिहीबार भएको पुनस् मतदानबाट पहिलो चरणमा सर्वाधिक मत ल्याउने प्रकाश बमलाई पराजित गर्दै भट्ट विजयी भएका हुन् । भट्टले १३५९ मत ल्याए भने प्रतिद्वन्द्वी बमले १०९६ मत पाएका छन् ।
बिहीबार बिहान भएको पुनस् मतदानमा २४६७ मत खसेको थियो । गत आइतबार भएको पहिलो चरणको मतदानमा तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनस् मतदान भएको थियो ।
सभापतिको प्रतिस्पर्धाबाट पहिलो चरणमै बाहिरिएका शेखर कोइराला पक्षका रामप्रसाद कलेलले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै बमलाई साथ दिने घोषणा गरेका थिए । तर कोइराला पक्षको साथ पाएर समेत बमले पहिलो चरणमा पाएको मत समेत कटाउन सकेनन् ।
बम र भट्ट संस्थापन पक्षकै उम्मेदवार भएपनि भट्ट नै आधिकारिक उम्मेदवार थिए । उनलाई देउवासहित कैलालीका प्राय सबै केन्द्रीय सदस्यहरूले साथ दिएका थिए ।







