कांग्रेस मकवानपुरः सभापतिको मतगणना सुरु
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको १४ औ अधिवेशन अन्तर्गत सभापति पदको मतगणना सुरु भएको छ । हेटौडा–२ स्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा मतगणना सुरु भएको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताए ।
राती १०.३० बजेदेखि सभापतिको मतगणना सुरु भएको उनले बताए ।सभापतिमा विजयीका लागी खसेको मतको ५१ प्रतिशत मत ल्याउनुप¬र्ने प्राबधान छ ।
सोमबार भएको मतदान प्रक्रियामा एक हजार सात सय ७५ जनाले मतदान गरिएको सहायक मतदान अधिकृत अधिकारीले बताए । प्रतिनिधिसभा क्षेत्र १ को (क)बाट ४ सय ९५ मत, (ख) बाट २ सय ६२ मत खसेको छ भने प्रतिनिधि सभा क्षेत्र २ को (क)बाट ५ सय २ र (ख)बाट ५ सय १६ मत खसेको उनले जानकारी दिए ।
मतदान प्रकृयामा जिल्लाभरबाट निर्वाचित भएका १ हजार ८ सय ५३ जना क्षेत्रीय प्रतिनिधिहरु मतदाता रहेका थिए ।
कांग्रेस मकवानपुरको आगामी नेतृत्वका लागि सभापतिमा आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेको प्यानल चुनावी मैदानमा रहेका थिए । सभापति कडा प्रतिस्पर्धा भएका कारण दोस्रो चरणमा भोली पुनः निर्वाचन हुने देखिन्छ । यद्यपी मत परिणाम कस्तो आउँछ त्यस्मा भरपर्नेछ ।







