काँग्रेस मकवानपुरः सभापतिको दौडमा तीन उम्मेदवार, मतदान हुँदै
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ । हिजो भएको उम्मेदवारी दर्ता प्रक्रियामा सभापतिका आकांक्षीका रुपमा तीन जना उम्मेदवारले प्यानलसहित उम्मेदवारी दर्ता गराएको हो ।
सभापतिको दौडमा संस्थापन पक्षबाट आनन्दराम पराजुली र बुद्ध लामाको उम्मेवारी छ भने इतर पक्षबाट जयराम लामिछानेले आफ्नो उम्मेवारी घोषणा गरिसकेका छन् ।
सभापतिका उम्मेदवार लामालाई बागमती प्रदेश सभापति इन्द्र बानियाँको समर्थन रहेको पाइएको छ भने संस्थापन पक्षकै अर्का उम्मेदवार पराजुलीलाई काँग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डीना)को समर्थन रहेको बुझिएको छ । उता लामिछाने भने इतर पक्षका एकल उम्मेदवार हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार बिहान ९ बजेबाट हेटौंडा–१ मा रहेको डल्फीन चौरमा मतदान हुँदैछ । अपरान्ह ४ बजेसम्मका लागि मतदानको समय तोकिएको जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले जनाएका छन् ।







