काँग्रेस जिल्ला सदस्यमा ८० बर्षीय चन्द्रबहादुरकोे उम्मेदवारी
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको जिल्ला अधिवेशन सदस्य पद (भुगोलतर्फ)मा ८० बर्षीय चन्द्रबहादुर न्यौपानेले उम्मेवारी दिएको छ ।
भोलि (सोमबार) हुने काँग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशन अन्तर्गत आज भएको मनोनयन दर्ता प्रक्रियामा ८० वर्षीय चन्द्रबहादुर न्यौपानेले आफ्नो उम्मेदवारी दर्ता गराएको हो ।
काँग्रेस मकवानपुरको सदस्य पद (भुगोलतर्फ)को लागि उम्मेदवारी दिने न्यौपाने एकमात्र जेष्ठ सदस्य हुन् ।
मनहरी–४, तल्लो मसिने निवासी न्यौपाने विगत २०१७ सालदेखि निरन्तर नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनले यस अघि नै २०५४ सालमा भएको निर्वाचनमा साबिक हाँडीखोला गाविस वडा नं. ७ बाट निर्वाचित वडा अध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् ।
साथै उनले साबिक काँग्रेस हाँडीखोलाको सभापति भएर २ कार्यकालको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
भोलि हुने निर्वाचनमा सभापति पदका लागि आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेले आ–आफ्नो प्यानलसहित उम्मेदवारी मनोनयन दर्ता गराइ सकेका छन् । सोमबार बिहान ८ बजेदेखि मतादान हुने कार्यतालिका रहेको छ ।







