६३ वर्षका वृद्धद्वारा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

अखबार हब
२०७८ फाल्गुन १४, शनिबार ०७:४४

मोरङ । मोरङको लेटाङमा ६३ वर्षीय वृद्धले १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेका छन् । बुधबारदेखि हराइरहेकी लेटाङ– ८ ज्यामिरे टोलकी करुणा राईको नग्न शव शुक्रबार स्थानीय लालहिरा सामुदायिक वन क्षेत्रमा खाल्डो खनेर गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

बालिकाका छिमेकी दीपक गिरीले बलात्कारपछि अपराध लुकाउन हत्या गरेको र उनको शरीरका लुगा खोलेर घरनजिकै जलाएको प्रहरी अनुसन्धानमा खुलेको छ । बालिकाले प्रयोग गर्ने मोबाइलसमेत वृद्धले आफ्नै घरभित्र लुकाएको अवस्थामा भेटिएको छ । गिरीले अपराध स्वीकार गरेको र उनकै बयानका आधारमा शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।

‘बालिका हराएपछि खोजतलास गरिदिन आफन्तले इलाका प्रहरी कार्यालय लेटाङमा हुलियासहित निवेदन दिएका थिए । गाउँमा खानतलासी गर्दा गिरीको घरनजिकै आगो लगाएको ठाउँ फेला पर्‍यो । खरानी पन्छाएर हेर्दा विद्यालय पोसाकको पेटीको कब्जा र पाइन्टको फलामे टाँक भेटियो । विद्यालयको नामसमेत देखिएका कब्जा र टाँक बेपत्ता बालिकाकै हो भन्ने शंका भयो,’ एसपी जिसीले भने, ‘त्यसपछि शंका लागेर गिरीको घर खानतलासी गर्दा बालिकाले प्रयोग गर्ने मोबाइल घरभित्र छानोमा लुकाएको अवस्थामा भेटियो । वृद्धलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा आफूले यौन आशक्ति सहन नसकेर बलात्कार गरेको र अपराध लुकाउन हत्या गरेर जंगलमा गाडेको स्वीकार गरे । उनकै बयानका आधारमा शव बरामद गरिएको हो ।’

बालिका राई घरदेखि करिब तीन किलोमिटर दक्षिणमा पर्ने जाँते बजारस्थित जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्थिन् । बुधबार विद्यालयबाट घर फर्किने क्रममा अपराह्न ४ बजेदेखि उनी बेपत्ता भएकी थिइन् । आधा घन्टा हिँडेर विद्यालय जाँदा–आउँदा जंगलको बाटोमा कहिलेकाहीँ उनी एक्लै हुन्थिन् । यसबारे जानकार गिरीले बुधबार बालिका विद्यालयबाट फर्किने क्रममा जाँतेदेखि नै पछ्याएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

घटनाबारे एसपी जिसीले भने, ‘बाटोमा सँगै हिँड्ने क्रममा गिरीले विभिन्न प्रलोभन दिएर बालिकामाथि यौन शोषणको प्रयास गरेका थिए । तर, बालिका नमानेपछि जंगल क्षेत्रमा पुगेपछि मुख थुनेर एकान्तमा लगी बलात्कार गरेका थिए । पटक–पटकको बलात्कारपछि बेहोस भएकी बालिकालाई घाँटी थिचेर हत्या गरे र अपराध लुकाउन बालिकाले लगाएको विद्यालयको पोसाक र भित्री लुगा सबै खोलेर नांगै बनाएर गाडेका थिए ।’

बालिकाको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको तथा बलात्कार र हत्या स्वीकार गर्ने गिरीलाई लेटाङ प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको बलात्कारपछि हत्या गर्ने वृद्ध गिरीकी श्रीमती क्यान्सरले तीन महिनाअघि मात्रै बितेकी थिइन् । वृद्ध गिरी घरमा एक्लै बस्थे ।

यसमा तपाइको मत

Your email address will not be published.


*