एक वर्षपछि ओली–प्रचण्ड ‘वान टु वान’

अखबार हब
२०७८ फाल्गुन १३, शुक्रबार ०८:३७

काठमाडौं । नेकपाकालीन तिक्ततापूर्ण विभाजनपछि पहिलोपटक केपी ओली र प्रचण्डबीच खुलेर छलफल भएको छ । संसद भवन नयाँ बानेश्वरमा सुरुमा दुई नेतामात्र वान टु वान वार्ता गरेका थिए । त्यसपछि वार्तामा अन्य नेता पनि मिसिए ।

२०७७ पुस ४ गते एउटै पार्टीका अध्यक्षको हैसियतमा दुई नेताबीच खुमलटारमा अन्तिम वार्ता भएको थियो । आफूविरुद्धको आरोपपत्र फिर्ता लिन आग्रह गर्दै खुमलटार पुगेका ओलीलाई प्रचण्डले उनको प्रस्ताव अश्वीकार गरेर फर्काएपछि भोलिपल्ट प्रतिनिधिसभा विघटन भएको थियो ।

विघटनपछि नेकपा राजनीतिक रुपमा विभाजित भयो । त्यसयता दुई नेताबीच टेलिफोन र त्रिपक्षीय बैठकमा भेट भएपनि एमाले र माओवादी अध्यक्षका रुपमा औपचारिक तथा विस्तृत छलफल भएको थिएन ।

बिहीबारको वार्तामा एमालेबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए भने माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत थिए । तर दुई अध्यक्षबीच गोप्य छलफलपछिमात्र उनीहरु सहभागी भए ।

दुवै नेताले गरेको व्रिफिङ अनुसार प्रचण्डले विगतमा जे भए पनि अब नयाँ ढंगले मिलेर जाऔं भन्ने प्रस्ताव राखेका थिए । जवाफमा ओलीले सम्बन्ध सुधारका लागि तीनवटा मुख्य शर्त अघि सारे ।

त्यो भनेको हामीलाई संसदको कारवाहीमा भाग लिनका लागि वातावरण चाहियो । त्यसका लागि पहिलो कुरा नेकपा एमालेले अनुशासन उल्लंघनमा कारवाही गरेका माधव नेपालसहित १४ सांसद निष्कासनको सूचना सभामुखले टाँस्नुपर्छ ।

यदि त्यसो नहुने हो भने सभामुख अग्नि सापकोटाले राजिनामा दिएर निकास खोल्नुपर्छ । त्यति भयो भने एमालेले सदनको कारवाहीमा भाग लिएर एमसीसी लगायतका विषयमा छलफल गर्ने ओलीले बताएका थिए ।

प्रचण्डले संवाद र सम्बन्ध सुधारका लागि राखेको प्रस्तावमा ओलीको अर्को शर्त भनेको विगतमा नेकपाको अध्यक्ष हुँदा आफूविरुद्ध प्रचण्डको अगुवाईमा लगाइएको १९ पेज लामो उनकै भाषामा ‘अपराधिक आरोपपत्र’ खारेज गरेको सार्वजनिक घोषणा गर्नुपर्छ ।

यी तीनै विषय लगायत अन्य विषयमा दुई अध्यक्षबीच विस्तृत कुराकानी भएपनि बिहीबारको वार्तालाई संवादको सुरुवातका रुपमा लिइएको वार्तामा सहभागी एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

विगतमा दुवै पक्षबाट कमिकमजोरी भएका भन्दै प्रचण्डले ती गल्ति र कमजोरी सच्याउँदै,आत्मसमिक्षा गरेर अघि बढ्न तयार रहेको बताएका थिए । ओलीले भने आफूले भनेका तीन कुरामा प्रचण्ड तयार हुँदामात्र नयाँ कोर्षमा जान सकिने बताएका थिए ।

माओवादीले पछिल्लो समय एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने अनौपचारिक प्रस्ताव समेत अघि बढाएको थियो । तर एमालेले भने त्यसमा चासो दिएको छैन । (नेपाल प्रेसबाट साभार)

यसमा तपाइको मत

Your email address will not be published.


*