एमसीसीको विषयमा सिर्जना गरिएको विवाद निरर्थकः महन्थ ठाकुर

अखबार हब
२०७८ माघ २९, शनिबार २०:२४

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका छन्।

जनकपुरमा शनिबार सञ्चारकर्मीसँग ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँग जोडिएकाले विवाद गर्नुको कुनै तुक नरहेको बताए। सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनका लागि यो महत्वपूर्ण विषय भएको उनको भनाइ छ।

उनले एमसीसीको विषयमा उठेको विवाद सरोकारवाला निकायले आफ्नो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सिर्जना गर्नु उचित नभएको बताए।

अध्यक्ष ठाकुरले आफ्नो पार्टीमा कुनै विवाद नरहेको बताउँदै पार्टी छाडेर जानेलाई रोक्न नसकिने बताए। उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको भन्दै त्यो समयको आवश्यकता रहेर निर्णय लिनेसमेत बताए।

लामो समय एमसीसीबारे मुख नखोलेको लोसपा अमेरिकासँगको ५० करोड डलरको अनुदानको पक्षमा उभिएको छ। त्यसको विरोधलाई लोसपाले निरर्थक बहसको संज्ञा दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*