सामाजिक सञ्जालका सेलिब्रिटी डाक्टर

अखबार हब
२०७८ माघ २८, शुक्रबार २०:१०

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल जीवनको महत्त्वपूर्ण पाटो भइसकेको छ । त्यसमा पनि कोरोना महामारीले यसको प्रयोगलाई अझ बढवा दिएको अध्ययनहरुले पनि देखाएका छन् । युट्युब, फेसबुक, ट्विटर, इन्स्टाग्रामसँगै पछिल्लो समय टिकटक निकै लोकप्रिय बनिरहेको छ ।

नयाँ र पुराना पुस्ता पनि सामाजिक सञ्जालमा विभिन्न रुपले झुमिन थालेपछि अहिले धेरै चिकित्सकहरुले पनि आफ्नो परामर्श दिने थलो बनाउँदै लगेका छन् । आममानिस तथा बिरामीलाई पनि फलदायी हुने चिकित्सकीय सल्लाह उनीहरुले सामाजिक सञ्जालमार्फत नै दिन सुरु गरेका छन् ।

फेसबुकमा सर्वाधिक पछ्याइएका चिकित्सकमा पर्छन्, मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल । उनलाई १० लाखभन्दा बढीले पछ्याएका छन् । उनी मुटु मात्र नभई स्वास्थ जीवनशैली, खानपानलगायत जनस्वास्थ्यका अन्य विषयसँग सम्बन्धित भिडियो पोस्ट गरिरहन्छन् । उनले सामाजिक सञ्जालबाट नसर्ने रोगसम्बन्धी जनचेतना जनाउनका फेसबुकमा जोडिएको बनाए । उनले सन् २०१३ देखि नै फेसबुक पेज सुरु गरेका थिए ।

डा. मूर्ति भन्छन्, ‘म डाक्टरी पेसामा जीवनभर जति बिरामी हेरेर उपचार गर्न सक्छु त्यति ठूलो स्केलमा जनचेतना जगाउँदै सयौँ गुणाभन्दा बढीलाई सेवा दिन सक्छु भन्ने उद्देश्यले पेज सुरु गरेँ । नसर्ने रोग र जीवनशैलीमाथि किताब पनि लेखेको छु । मैले सुरु गर्दा फेसबुकको धेरै चलाइँदैनथ्यो ।’

उनले २०१७ बाट नियमित भिडियो हाल्न थाले । उनी भ्याएसम्म प्रायः समस्याको रिप्लाई गर्छन् । उनी लगभग दैनिक ४ घण्टा आफ्नो पेजका लागि समय दिन्छन् । कोभिडको समयमा त झण्डै दिनको ८ घण्टासम्म पनि पेजमै व्यस्त रहेको उनले सुनाए । कोभिडको समयमा दैनिक ३ सयदेखि ५ सयसम्म रिप्लाई गरेको उनी सम्झन्छन् ।

‘४ वर्षदेखि हजारौंको उत्तर दिएँ होला । कोभिडको समयमा नभ्याउँदा मसँगै काम गर्ने टिमको पनि सहयोग लिएको छु । पेजमा कन्टेन्ट मात्र नभएर बिरामीको समस्या निःशुल्क समाधान गरेका छौँ । त्यसैले पनि मान्छेले मन पराएको जस्तो लाग्छ । बिरामीहरुलाई पनि भिडियोले सहयोग गरेको छ । बनाइराख्नु भनेर प्रोत्साहन गर्छन्,’ उनले भने ।

त्यसैगरी सामाजिक सञ्जालमा बढी पछ्याइनेमा पर्छन् डा. कल्याण सुवेदी । उनी आफूलाई ‘डक्टर अफ नर्स प्राक्टिसनर’ भनेर चिनाउँछन् । उनी फेसबुक तथा टिकटक दुवैमा सक्रिय छन् । जनस्वास्थ्यका विविध विषयमा उनी भिडियो पोस्ट गर्छन् । उनलाई फेसबुकमा ८ लाखभन्दा बढी र टिकटकमा २ लाखभन्दा बढीले फलो गरेका छन् ।

डा.रुपक घिमिरे छालारोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ हुन् । मानिसहरुमा देखिने छाला तथा कपालका समस्याका बारेमा टिकटकमा उनले भिडियो बनाउने गरेका छन् । टिकटकमा उनका झन्डै ८७ हजार फलोअर्स छन् भने भिडियोहरु १० लाख भ्युजसम्म पनि गएको छ । दर्शकबाट आएका प्रतिक्रियालाई पनि उनले भ्याएसम्म जवाफ दिने गरेका छन् । उनी आफूले दिएका अन्तर्वार्ताका क्लिप्ससमेत टिकटकमा राख्छन् । एक वर्षदेखि टिकटकमा सक्रिय उनले जनमानसमा जनचेतना फैलाउने उद्धेश्यले टिकटकमा जोडिएको सुनाए ।

उनका अनुसार मानिसहरु बढी अनलाइन कस्मेटिक, युट्युबमा घरेलु टिप्स हेर्ने, पार्लरबाट औषधि लगेर लगाउने गर्दा पैसासँगै स्वास्थ्यमा पनि असर गरिरहेको छ । ‘अझै पनि मानिसमा सही सूचना पुगेको छैन । धेरैले घरेलु उपाय मात्र खोज्नुहुन्छ, चिकित्सककोमा गएर उपचार लिन अझै पनि हिच्किचाउने गरेको देखिन्छ,’ डा. घिमिरे भन्छन्, ‘छालाको रोगलाई त्यति गम्भीर रुपमा लिइँदैन । अनलाइनमा थुप्रै कस्मेटिक पसल छन्, गुणस्तरहीन हुन सक्छन् त्यो प्रयोग गर्ने बढेको छ । सही सूचना लिएर सम्बन्धित चिकित्सककोमा जाँदा सस्तो पनि पर्छ फाइदा पनि हुन्छ ।’ उनलाई डार्क सर्कल, कोठी हटाउने, डण्डीफोरको समस्या, कपाल झर्ने समस्या जिज्ञासाहरु बढी आउने गरेका छन् ।

स्त्रीरोग विशेषज्ञ तथा आइभीएफ स्पेसलिस्ट डा.नुतन शर्मा पनि टिकटकमा निकै सक्रिय छिन् । उनलाई झन्डै ३७ हजारले पछ्याएका छन् । टिकटकमार्फत उनीस्त्रीरोग सम्बन्धी विभिन्न समस्याका बारेमा जानकारी दिने गर्छिन्, जसलाई धेरैले रुचाएका छन् । आइभिएफसँग सम्बन्धित जिज्ञासाको पनि उनले जवाफ दिने गरेकी छिन् । उनी एक वर्षयता टिकटकमा सक्रिय छिन् ।

त्यसैगरी संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदी पनि सामाजिक सञ्जालमार्फत स्वास्थ्यसम्बन्धी परामर्श दिइरहन्छन् । विशेषगरी कोभिडसम्बन्धी उनका जानकारीमूलक पोस्टहरु रुचाइन्छ । साथै बेलाबेलामा सरकारलाई झकझक्याउने काम पनि गर्छन् ।

एकातिर विषयविज्ञले इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालमार्फत यसरी निस्शुल्क जानकारी दिइरहेका छन् भने भने कोही विज्ञ नभए पनि मानिसमा भ्रम छरिरहेका छन् । फेसबुक पेज होस् वा टिकटक, चिकित्सकहरु सेवाग्राहीसँग जोडिइरहेका छन् । तर, सामाजिक सञ्जालका नकारात्मक पाटा पनि छन् । कतिपयले बेतुकको भिडियो बनाएर वा पेज चलाएर भ्रमको खेती पनि गरिरहेको देख्न सकिन्छ । मेडिकल प्रोफेसनलबाहेकले चलाउने यस्ता पेजले आधिकारिक सूचना दिंदैनन् ।

स्वास्थ्य विज्ञका नाममा युट्युबमा अनेकखाले भिडियो राखिएका हुन्छन्, तिनको अनुभव वा प्रोफाइन नहेरी पछ्याउँदा कतिपयले थप रोग निम्त्याएका उदाहरण पनि छन् ।

डा. ओममूर्ति अनिल कुन मान्छेले कस्तो कन्टेन्ट सामाजिक सञ्जालमार्फत दिइरहेको छ त्यो कुरा बुझ्नुपर्ने बताउँछन् । ‘अलिकति झुटो अलिकति सत्य मिसाएर यस्तो रोचक कन्टेन्ट बनाउँछन् की साधारण मानिसलाई छुट्याउन गाह्रो हुन्छ । अर्धसत्यलाई फैलाएर सम्प्रेषण गर्छन् । रोचक बनाएर विश्वास जित्छन्,’ उनले भने, ‘सूचना प्रवाह गर्ने व्यक्ति समाजप्रति कत्तिको उत्तरदायी छ भन्ने याद गर्नुपर्छ । फेक न्युज सबैतिर हुन्छ । जनता आफै केयरफुल हुनुपऱ्यो ।’

त्यसो त, कस्ता विज्ञलाई फलो गर्ने त्यो त प्रयोगकर्ताकै हातमा भर पर्ने कुरा हो । (ईकान्तिपुर)

यसमा तपाइको मत

Your email address will not be published.


*