एसईई केन्द्रले नै गराउने, ऐन संशोधन गर्न मन्त्रिपरिषद्मा

अखबार हब
२०७८ माघ २७, बिहीबार १६:३६

काठमाडौं । यस वर्ष हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि संघीय सरकारअन्तर्गत राष्ट्रिय परीक्षा बोर्डले नै गराउने भएको छ । आउँदो वैशाख ९ देखि २० गतेसम्म एसईई हुन लागेको हो ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले कानुनमै परीक्षा बोर्डले गराउने उल्लेख भएकाले त्यसमा केही गर्न नसकिने बताए । उनले भने, “स्थानीय तहलाई दिन ऐनमा नै संशोधन गर्नुपर्छ । त्यो हामीले गर्ने होइन । तर, प्रादेशिकस्तरमा परीक्षा सञ्चालन गर्ने तयारी भने भएको छ ।”

कक्षा–१२ सम्मको शिक्षा स्थानीय तहमा गाभिएकोले एसईई पनि स्थानीय तहले नै गर्नुपर्ने लबिङ हुँदै आएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पनि एसईई खारेज गरी कक्षा–१२ को परीक्षा मात्र बोर्डबाट गराउन छलफल चलिरहेको जानकारी गराएका थिए ।

तर, शिक्षा ऐन (आठौँ संशोधन), २०७३ मा एसईई एवम् कक्षा–११ र १२ को परीक्षासम्बन्धी कार्य बोर्डले गर्ने उल्लेख छ । ऐन संशोधन गर्न अहिले मन्त्रिपरिषद्मा प्रस्ताव पुगेको छ । तर, परीक्षा सञ्चालन गर्न प्रदेश निर्देशालयसँग छलफल गरी तयारी अवस्थामा राखिएको अध्यक्ष शर्माले बताए ।

यस्तै, विगतमा जस्तो परीक्षाफल एकैपटक सार्वजनिक नहुने भएको छ । प्रदेशानुसार जुन प्रदेशले छिटो सक्छ, सो प्रदेशले परीक्षाको नतिजा सार्वजनिक गर्न सक्ने उनले स्पष्ट पारे ।

यसपालि एसईईमा करिब दुई हजार परीक्षा केन्द्रमा लगभग पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । केही जिल्लाबाट परीक्षार्थीको तथ्यांक नआइसकेकोले कुल सहभागी विद्यार्थी संख्या तोक्न केही दिन लाग्ने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*