बालकोटमा ओली–कोइरालाबीच भेटवार्ता

अखबार हब
२०७८ माघ २६, बुधबार ०७:५२

काठमाडौं । मंगलबार साँझ बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

चर्कदै गएको राजनीतिक माहोलमा ओली र कोइरालाबीचको भेटलाई महत्वका साथ हेरिएको छ । ओलीसँगको भेटवार्ताका लागि मंगलबार साँझ कोइराला बालकोट पुगेका हुन् ।

ओली र कोइरालाबीच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला कांग्रेस नेताहरुले सक्रियता बढाएका छन् ।

थपलियाका अनुसार बालकोटमा ओली र कोइरालाबीच अढाइ घण्टा कुराकानी भएको हो । छलफल एमसीसी अनुमोदन, स्थानीय चुनाव र संसदमा जारी अवरोध हटाउने विषयमा केन्द्रित थियो ।

लामो तयारीपिछि निर्वाचन आयोगले वैशाख ३० मा स्थानीय निकायको निर्वाचन एकसाथ गर्ने घोषणा गरिसकेको छ । कोइरालासँगको भेटमा ओलीले तोकेकै समयमा चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग भेट गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*