तीन राउण्ड हवाइ फायर गरेर प्रहरीले खुलायो राजमार्ग

अखबार हब
२०७८ माघ २५, मंगलवार १७:२६

मकवानपुर । स्थानियले आन्दोलन गरेसँगै अवरुद्ध रहेको पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएको छ । हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हिजो सोमबार हेटौंडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर सडक अवरुद्ध गरिएपछी प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी केहि समय अघिदेखि स्थानीय र मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका थिए ।

घिमिरेको मृत्यु भैसकेपछि ठक्कर दिने बस संचालक तथा यातायात समितिका व्यक्ति सम्पर्कमै नआएको, दोषीलाई कारवाही नभएको र उचित क्षतिपुर्ति नदिएको भन्दै हेटौंडा–१ चाइनाक्वाटरका स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले तीन राउण्ड हवाइ फायर तथा अश्रुग्याससमेत प्रहार गरेको थियो । साथै प्रहरीले राजमार्ग अवरोध गर्ने तीनजनालाई समेत नियन्त्रणमा लिएको छ । भिड तितरवितर पारेर भर्खरै अवरुद्ध सडक प्रहरीले खुलाएको हो ।

सोमबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले घिमिरेले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको हिजै उपचारको क्रममा मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*