राप्तीतटमा शवदाह मेसिनबाट शव जलाउन सुरु
मकवानपुर । हेटौंडाको राप्तीतहमा निर्माण गरिएको शवदाह मेसिनबाट शब जलाउन सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण गरिएको शवदाह मेसिनको जडान कार्य सम्पूर्ण भएसँगै आजबाट शव जलाउन सुरु गरिएको हो ।
हिन्दुसंस्कार अनुसार शव जलाउन मिल्नेगरी कुल ५४ लाख रुपैयाँ लागतमा मेसिन र २० लाख रुपैयाँ लागतमा फाउण्डेसन तयार गरेर आजबाट शव जलाउन सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिए
कुनैपनि व्यक्तिको मृत्यु भएमा सब जलाउनका लागि धेरै दाउरा थुपानुपर्ने बाध्यता, कहाँबाट दाउरा ल्याउने भन्ने समस्या, बेवारिसे शवहरु गाढ्नेकी जलाउने भन्ने खालका समस्याहरुको अन्त्य भएको मेयर महतले बताए। शवदाह मेसीनबाट शव जलाउन थालीए पछी सबै खालका झन्झट समेत हटेको छ ।
भारतबाट ल्याइएको शवदाह मेसिनको प्रयोगपछि शवदाहको क्रममा दाउराको खपत कम हुने र छोटो समयमै शवदाहको कार्य सकिने उनले जानकारी दिए ।
मेसिनमा शवदाह गर्दा कुनै किसिमको शुल्क नलाग्ने पनि उपमहानगरले स्पष्ट पारेको छ । एक सय १० फिट अग्लो चिम्नीसहितको मेसिनमा शवदाह गरिने भएकोले आसपासका क्षेत्रमा दुर्गन्ध हुने समस्याको समेत समाधान हुनेछ ।







