बागमती प्रदेशभर २६ सय बालबालिका कुपोषित, सबैभन्दा बढी ललितपुरमा

अखबार हब
२०७८ माघ २५, मंगलवार १६:०४

मकवानपुर । उमेर २ वर्ष भइसक्यो । तौल साढे २ केजी मात्रै छ । पेट ठूलो, गाला ख्याउटे, तिघ्राको मासु मुजा परेको छ । हेर्दैमा उनमा पोषणको मात्रा नपुगेको भन्ने लाग्छ । जन्मेको ६–२३ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क बालभिटा उपलब्ध गराउँदै आए पनि उनी यसको पहुँचमा छैनन् । यो मकवानपुरको विकट कैलाश गाउँपालिका–४ लिक्चेका सुमन चेपाङको अवस्था हो । आइतराम र सीतामायाका उनी चौथो सन्तान हुन् । उनका दाइदिदीको अवस्था पनि त्यति सन्तोषजनक छैन ।

उनीहरू कसैले बालभिटा खान पाएनन् । सीतामाया भने पाँचौं सन्तान जन्माउने तयारीमा छिन् । तर गर्भधारण गरेको ६ महिना भइसक्दा एक पटक पनि गर्भ जाँच गराएकी छैनन् । २३ वर्षीया सीतामायालाई गर्भ जाँच गराउनुपर्छ भन्ने जानकारी पनि छैन । कैलाश गाउँपालिकाको केन्द्र कटुन्जेमा गत साता आयोजना गरिएको स्वास्थ्य शिविरमा कुपोषणले ग्रसित छोरा सुमनलाई बोकेर उनी आएकी थिइन् । चिकित्सकले उनलाई गर्भ जाँच र सन्तानलाई बालभिटा खुवायौ त भनी सोध्दा उनको जवाफ ‘छैन’ थियो । कैलाश–२ लिक्चेकै २२ वर्षीया मंगलीमाया चेपाङको पेटमा पनि।६ महिनाकै गर्भ छ ।

सीतामायाले जस्तै उनले पनि अहिलेसम्म गर्भ जाँच गराएकी छैनन् । १३ महिने छोरी च्यापेर सोही शिविर आएकी उनले आफ्नो र छोरीको पनि स्वास्थ्य परीक्षण गराइन् । छोरीको अवस्था सुमनको भन्दा भिन्न थिएन । कडा कुपोषणले उनी पनि ग्रसित थिइन् । १६ वर्षको उमेरमा बिहे गरेकी मंगलीमायाका ३ सन्तान जन्मिसकेका छन् । तर आजसम्म उनलाई गर्भ जाँच गराउनुपर्छ र नवजात शिशुलाई बालभिटा खुवाउनुपर्छ भन्ने जानकारी थिए । यसबारे जानकारी दिन र सेवा लिन पनि लिक्चेमा स्वास्थ्य संस्था छैन । गाउँपालिका केन्द्रमा भएको स्वास्थ्य संस्थासम्म आइपुग्नै ३ घण्टा हिँड्नुपर्छ ।

‘पालिकाका अधिकांश चेपाङ समुदायका बालबालिका कुपोषणले ग्रसित छन्,’ कैलाश गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम महतोले भने, ‘बालबालिकालाई बालभिटा पनि खुवाउँदैनन् । सुत्केरी हुन पनि स्वास्थ्य चौकी आउँदैनन् र गर्भ परीक्षण पनि गराउँदैनन् ।’ सानै उमेरमा बिहे गर्ने चलन चेपाङ समुदायमा अझै कायम छ । सानै उमेरमा आमा बन्दा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्ने र धेरै सन्तान जन्माउँदा पनि पोषण र स्याहार पर्याप्त नपुग्ने अवस्था रहन्छ । त्यसमाथि यहाँका अधिकांश स्थानीयलाई आफ्नो उत्पादनले मुस्किलले ४ महिना पनि खान पुग्दैन । कुपोषणको तथ्यांक हेर्दा पनि मकवानपुरको अवस्था चिन्ताजनक नै छ ।

जिल्लामा जन्मेदेखि ११ महिनासम्मका एक सय ४७ जना र एक वर्षदेखि २३ महिनासम्मका ७६ जना बालबालिका कुपोषित रहेको स्वास्थ्य कार्यालय प्रमुख प्रणय उपाध्यायले बताए । प्रदेशका १३ जिल्लामध्ये ललितपुरमा कुपोषित हुने ११ महिनासम्मका बालबालिकाको संख्या सर्वाधिक ९७०४ जना० रहेको प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका तथ्यांक अधिकृत इन्द्रमणि भण्डारीले बताए । चितवनमा यो संख्या २ सय ७ र धादिङका १ सय ९७ छ । यसैगरी, कुपोषित हुने एक वर्षदेखि २३ महिनासम्मका बालबालिकाको संख्या धादिङमा २ सय ७५ र चितवनमा २ सय २० छ । प्रदेशभरिमा कुपोषित हुने बालबालिकाको संख्या सबैभन्दा कम रसुवामा छ । यहाँ ११ महिनासम्मका २ जना र एक वर्षदेखि २३ महिनासम्मका ६ जना मात्रै कुपोषित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठले बताए ।

वाग्मती प्रदेशमा २३ महिनासम्मका एक लाख ५४ हजार ७ सय ५९ बालबालिका छन् । तीमध्ये २ हजार ५ सय ९५ बालबालिका कुपोषणले ग्रसित रहेको उनले बताए । जसमध्ये गम्भीर खालका कुपोषितको संख्या ९ सय ५५ जना छन् । ‘खाद्य असुरक्षा, गरिबी र चेतनास्तर कमजोर भएका गाउँबस्तीका अधिकांश बालबालिकाहरू कुपोषणले ग्रसित भेटिएका छन्,’ उनले भने, ‘कुपोषणबाट बालबालिकालाई मुक्त गर्नका लागि निर्देशनालय, स्वास्थ्य कार्यालयलगायतले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।’

बालबालिकालाई कुपोषणबाट मुक्त गर्न भन्दै सरकारले स्थानीय तहबाटै बालभिटा वितरण गरिरहेको छ । तर कतिपय अभिभावकलाई यसबारे जानकारी नै छैन । कतिपयले लगेर पनि नखुवाउने गरेको बताउँछिन् कैलाश गाउँपालिकाकी कार्यवाहक अध्यक्ष सुकुमाया थिङ । ‘स्थानीय तहहरूको लक्ष्य र तथ्यांकअनुसार बालभिटा खाने बालबालिकाको संख्या पनि ज्यादै न्यून छ,’ उनले भनिन् । बालभिटा खपत नभएर म्याद नाघ्दा स्थानीय तहले नष्ट गर्नुपरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

जन्मेको ६ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फुर्तिलो बनाउन बालभिटा खुवाउने गरिन्छ । पोषण तथा एकीकृत बालरोग व्यवस्थापनअन्तर्गतको बालभिटा कार्यक्रमअनुसार प्रत्येक स्थानीय तहले बालभिटा निःशुल्क रूपमा उपलब्ध गराउँछन् । बच्चा जन्मेको ६ महिनादेखि ११ महिनासम्म, १२ महिनादेखि १७ महिनासम्म र १८ महिनादेखि २३ महिनासम्मलाई हुने गरी स्थानीय तहले ३ पटक बालभिटा वितरण गर्ने गरेको छ । तर, मकवापुरका स्थानीय तहहरूको तथ्यांकअनुसार पहिलोपटक बालभिटा लैजाने अभिभावकको तुलनामा दोस्रो र तेस्रो पटक लिन आउनेको संख्या निकै कम छ ।

बच्चा जन्मिएपछि २ वर्षभित्रमा उसको ८० प्रतिशत मस्तिष्क विकास हुने हुँदा त्यसका लागि पनि बालभिटाले मद्दत पुर्‍याउने स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘सरकारले निःशुल्क रूपमा बालभिटा वितरण गरिरहँदा पनि अभिभावकमा बालबालिकालाई बालभिटा खुवाउनुपर्छ भन्ने चेतनाको विकास हुन सकेको छैन,’ कैलाशका स्वास्थ्य शाखा प्रमुख महतोले भने, ‘गाउँमा रहेका महिला स्वयम्सेविकालाई बालबालिकालाई बालभिटा खुवाउन अनुरोध गर्दा पनि टेर्दैनन् ।’ कान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published.


*