हेटौंडामा युवा संघले जलायो प्रधानमन्त्री देउवाको पुत्ला
मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज हेटौंडामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता र स्थानीय तहको निर्वाचनको मिति घोषणको माग गर्दै आज साँझ हेटौंडाको बुद्धचोकमा राष्ट्रिय युवा संघ नेपाल हेटौंडा नगर कमिटीले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो ।
उनिहरुले विरोध प्रदर्शनमा ‘मापसे सरकार मुर्दावाद, मूल्यवृद्धि फिर्ता गर, स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर, लिपुलेक लिम्पियाधुरा र कालापानी फिर्ता गर, नेकपा एमाले जिन्दावाद, केपी ओली आई लभ यू, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद’ भन्दै नारावाजी गरेका थिए । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता र स्थानीय निर्वाचनको घोषणा नभएसम्म प्रदर्शन जारी राख्ने उनीहरुले जनाएका छन् ।
यसअघि, आजै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको बाइपास सडकमा एक घण्टे चक्काजाम गरेका थियो ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएसँगै देशभर विरोध प्रदर्शन भइरहेको छ । आयोगले मूल्य बढाएसँगै हाल पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ रुपैयाँ पुगेको छ ।







