मुख्यमन्त्री पाण्डेको अभिव्यक्ति पदीय मर्यादा विपरित : नेकपा एमाले

अखबार हब
२०७८ माघ २०, बिहीबार १९:३७

मकवानपुर। प्रमुख विपक्षी दल नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पदीय मर्यादाविपरीत गालीगलौजमा उत्रिएको र भ्रष्टाचारमा संलग्न भएको भन्दै कडा प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।

एमाले बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभामै विपक्षी दलमाथि सरकार प्रमुख संसदीय मर्यादाविपरित व्यक्तिगत गालीगलौजमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अन्धाधुन्ध गरेको खर्चको आमनागरिक, बुद्धिजिवी तथा सञ्चार जगतले तिव्र विरोध गरिरहँदा प्रदेश सरकारका प्रमुख स्वयम्ले सरकारले खर्च नगरे कस्ले गर्छ त रु भन्ने अत्यन्तै गैह्र जम्मेवार र पदीय मर्यादा विपरीत गैह्र कानूनी अभिव्यक्ति सार्वजनिक सभा समारोहहरुमा दिने, सरकारको नेतृत्व आफूले गरिरहेको समेत भूलेर प्रतिपक्ष जस्तो व्यवहार प्रस्तुत गर्ने, पदको मर्यादा भूलेर व्यक्तिगत गालीगलौजमा उत्रने क्रियाकलाप अत्यन्तै खेदजनक छ ।’

अघिल्लो प्रदेश सरकारले स्थापना कालमै लागू गरेका नीति कार्यक्रम तथा राष्ट्रिय गौरवका आयोजनाहरू कटौती गर्ने तथा रकमान्तर गरेर अन्धाधुन्द खर्च गरेको आरोप एमालेले लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले मन्त्रालय फुटाएको छ तर कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । जतातै अस्तव्यस्ता सिर्जना गरिएको छ । सरकार प्रमुख सभा समारोहमा मेरो पार्टीएको कमिटी नबनेको वडामा एक रूपैयाँ पनि बजेट हाल्दिन भन्दै हिँडिरहनु भएको छ । संघीयता विरोधीहरुका लागि टाउको उठाउन र संघीयतालाई ध्वस्त पार्न यो भन्दा राम्रो अवसर के हुन सक्छ ?’

एमालेले प्रदेश सरकारका गलत कामको साक्षी नबस्न कर्मचारीलाई समेत सचेत गराएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*