बारामा ९ गोठ जलेर नष्ट, ९ लाख रुपैयाँ बराबरको क्षति
बारा । बारामा मंगलबार राति भएको आगलागीमा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बारागढी गाउँपालिका–२ बिसुनपुर्वामा भएको आगलागीमा ९ वटा घरगोठ जलेर नष्ट भएको छ। आगलागीमा परी सोही स्थान बस्ने देवकान्त चौधरी, प्रेमलाल चौधरी, जयप्रकाश चौधरी, लीलावती थरुनी, उर्मिला चौधरी, सुरेश दास, कञ्चन दास, लक्ष्मण दास, शंकरप्रसाद जयसवालको घर–गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
प्रेमलाल चौधरीको घरबाट राति पौने १२ बजे सल्किएको आगो थप आठ वटा घरगोठमा फैलिएको थियो।
अगलागीबाट घरभित्र राखिएको काठको फर्निचर, झ्याल, ढोका, दाउरा, खाने अन्नलगायत धनमाल गरी ९ लाख बराबरको क्षति भएको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले बताए।
प्रहरी र स्थानीय बासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।







