स्थानीय तहको निर्वाचनको माग गर्दै हेटौंडामा अनेरास्ववियुको सडक बहस
मकवानपुर । स्थानीय तहको निर्वाचन समयमै गर्न नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले हेटौंडामा सडक बहसको आयोजना गरेको छ । अनेरास्ववियु मकवानवपुर कमिटीले बुधबार हेटौंडाको बुद्धचोकमा सडक बहसको आयोजना गरेको हो । अनेरास्ववियु मकवानवपुर जिल्ला कमिटीका अध्यक्ष विशाल पौडेलको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले अहिले गठबन्धनको सरकारले संविधान अनुसार हुनुपर्ने स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरी देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेको आरोप लगाए । त्यसको विषयमा आम विद्यार्थी, जनता, नागरिक समाजलाई कानुनका प्रावधानहरु के हुन् ? स्थानीय तहको निर्वाचन समयमै किन हुनुपर्ने हो र यदि समयमा निर्वाचन भएन भने त्यसको परिमाण के आउँछ ? भन्ने कुरा प्रकाश पारिदिनका निम्ति सडक बहस गर्नु परेको उनले बताए ।
कानुनव्यवसायी मुकुन्द अधिकारीले स्थानीय तहको निर्वाचनको मिति सार्ने कुरा संविधान र कानुन विपरित रहेको बताए । निर्वाचनको अपरिहार्यता छ भन्ने कुरा स्वयम् सरकारलाई थाहा नहुने कुरा नहुने भन्दै गलत स्वार्थलाई पुरा गर्नका लागि अनावश्यक व्याख्या गर्न जरुरी नरहेको बताए।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, कानुन व्यवसायी ध्रुबप्रसाद चौलागाई र मदन दाहाल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई लगायत विद्यार्थी नेता, कार्यकर्ताहरुको उपस्थिति रहको थियो ।







