युवा नेता सापकोटाले दिए विद्यालयलाई ५२ हजार छात्रवृत्ति रकम
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधि सभा क्षेत्र १ का सदस्य युवा नेता तथा समाजसेवी योग्यराज सापकोटाले छात्रवृत्ति रकम हस्तान्तरण गरेका छन् ।
हेटौंडा–९ मा रहेको प्रगति उच्च माध्यामिक विद्यालयमा अध्ययनरत् गरिब, असहाय, अनाथ बालबालिकाका लागि सापकोटाले ५२ हजार रुपैयाँ छात्रवृत्ति रकम सहयोग गरेका हुन् । उनले छात्रवृत्ति रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप पराजुलीलाई हस्तान्तरण गरेका थिए ।
छात्रवृत्ति रकम हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर सदस्य सीता अधिकारी, नेपाली कांग्रेस जिल्ला सदस्य माधव आचार्य, नेपाली कांग्रेस नगर सभापति उत्सव इटेनीलगायतको सहभागिता थियो ।
छात्रवृत्ति रकम हस्तान्तरण गर्दै सापकोटाले आगामी दिनमा पनि आवश्यकताका आधारमा सहयोग गर्ने प्रतिबद्धता जनाए । सापकोटाले यस अघि विभिन्न विद्यालय तथा बाल विकास केन्द्रहरुमा सहयोग गर्दै आइरहेका छन् ।







