सरकार भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्ध : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले भ्रष्ट्राचार नियन्त्रणका लागि केन्द्रले चालेका कदमप्रति सरकारको सदैव साथ रहने बचन दिए। भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रले सरकारलाई दिएको सुझावको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास उनले दिलाएको सतर्कता केन्द्रका उपसचिव एवं सूचना अधिकारी हरिप्रसाद शर्माले बताए।
केन्द्रका सचिव सुशीलचन्द्र तिवारी नेतृत्वको प्रतिनिधिमण्डलले आव २०७७/७८ को १९औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गरेको हो। प्रतिवेदनमा केन्द्रले आर्थिक वर्षमा गरेका मुख्य काम कारबाहीबारे उल्लेख गरिएको छ।
केन्द्रद्वारा आव २०७७/७८ मा सम्पादन भएका कार्य र भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा नेपाल सरकार समक्ष प्रस्तुत गरिएका सुझावसमेत समावेश गरी राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियमबमोजिम प्रधानमन्त्री समक्ष प्रतिवेदन पेश गरिएको केन्द्रले जनाएको छ।







