दूधको मूल्य ६.५२ रुपैयाँले वृद्धि

अखबार हब
२०७८ माघ १८, मंगलवार ०८:५१

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि भएको बैठकमा सहभागी एक मन्त्री बताए । उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ ।

दूधको मूल्य फ्याट र एसएनएफको आधारमा गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक अधिकारीले जानकारी गराएको छ । कृषि मन्त्रालयले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांश बाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ । यो न्यूनतम मात्रा हो ।

जति फ्याट र एसएनएफ बढी हुन्छ किसानले त्यतिले बढी मूल्य पाउनेछन् । यदि कसैको दूधमा ४ प्रतिशत फ्याट छ भने त्यसलाई ६.८१ रुपैयाँले गुणन गर्दा २७.२४ रुपैयाँ हुन्छ । त्यस्तै ८ प्रतिशत एसएनएफमा ३.६० रुपैयाँले गुणन गर्दा २८.८ प्रतिशत हुन्छ । फ्याट र एसएनपएफलाई जोडेर ५६.०४ रुपैयाँ कायम गरिएको छ । गाईभन्दा बढी फ्याट र एनएफ भैँसीमा हुन्छ । अहिले भएको मूल्यवृद्धिका आधारमा हिसाब गर्ने हो एउटा किसानले भैँसीको दूधको प्रतिलिटर ८४–८५ रुपैयाँ पाउन सक्छन् भने गाई दूधको प्रतिलिटर ६० रुपैयाँ पाउन सक्छन् ।

विगत दुई वर्षमा गाई भैँसी खरिद मूल्यमा करिब ४० प्रतिशत, पशुपन्छी आहार १७ प्रतिशत, इन्धन १९ प्रतिशत, विदेशी विनिमय दर (डलर) सात प्रतिशत, श्रमिकको पारिश्रमिक १०.३३ प्रतिशत, बैंकको ब्याजदर ३.३ प्रतिशत र उत्पादित वस्तुको मुद्रास्फीति करिब १० प्रतिशतले वृद्धि भएको कारणले दूधको मूल्यमा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*