वागमती प्रदेश सभाको संसदीय समिति सभापतिमा एमालेको मात्रै उम्मेदवारी

अखबार हब
२०७८ माघ १६, आईतवार १९:५०

मकवानपुर । वागमती प्रदेशसभाअन्तर्गतको दुईवटा समिति सभापति छनौट गर्न सोमबार हुने निर्वाचनमा नेकपा (एमाले)ले मात्र उम्मेदवारी दर्ता गराएको छ । अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनौट गर्न निर्वाचन हुँदैछ ।

निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवारी दर्ता गर्नुपर्ने थियो । दुवै समितिमा एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवारी नै दर्ता गराएनन् । एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई उम्मेदवार बनाएको छ ।

वैशाखदेखि रिक्त रहेको अर्थ समितिमा २० जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ । अर्थ समितिका सदस्यहरु सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहको कारण उनीहरु निर्वाचनमा सहभागी हुने छैनन् । अर्थ समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री बनेसँगै उक्त पद रिक्त भएको थियो ।

शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल, राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद रिक्त छ । प्रदेश सभाका सचिव कृष्णहरि खड्काका अनुसार अर्थ समितिको सभापति पदको निर्वाचन सोमबार मध्याह्न १२ बजेका लागि तय गरिएको छ ।

शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरिएको छ । उनका अनुसार समितिको बैठक बसेर यस विषयमा प्रवेश गरी सभापति चयन गरिनेछ । समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ।

यसमा तपाइको मत

Your email address will not be published.


*