ओभरलोड बोक्ने ४७ टिपरलाई मकवानपुर प्रहरीको कारवाही
मकवानपुर। तोकिएको भन्दाबढी भार बोक्ने ४७ वटा टिपरलाई आज मकवानपुर प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले मकवानपुरका बिभिन्न स्थानमा चेकजाँच गरेर खानीबाट सिमेन्ट उद्योगमा चुनढुङ्गा बोकेर ल्याउने टिपरलाई कारवाही गरेको हो ।
प्रहरीले हेटौंडा –११, १५, मनहरी –७, भिमफेदी –१, मकवानपुरगढी २ लगायतका सडकमा चेकिङको क्रममा ओभरलोड बोकेर सिमेन्ट उद्योग तर्फ आइरहेका टिपरलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए। ओभरलोड बोक्ने टिपरलाई प्रहरीले दिनहुँ कारवाही गरेपनि हेटौंडा सिमेन्ट उद्योग, शिवम् सिमेन्ट उद्योग र ऋद्धिसिद्धि सिमेन्ट उद्योगमा चुनढुंगा ओसार पसार गर्ने क्रम भने अझै रोकिएको छैन ।







