आफ्नै साथीको हत्या आरोपमा एक पक्राउ
मोरङ । सामान्य भनाभनमा आफुसँगै काम गर्ने साथीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । ८ माघ साँझ सँगै मदिरा सेवन गरेपछि भएको सामान्य भनाभनमा आफ्नै साथी झप्पु भन्ने कटहरी गाउँपालिका ३ का २८ वर्षीय अशोक ऋषिदेवको हत्या आरोपमा सोही ठाउँका ३८ वर्षीय शेखर राजबंशी पक्राउ परेका हुन् ।
सँगै राजमिस्त्री काम गर्ने उनीहरुबीच ८ माघ साँझ मदिरा सेवनपछि लेनदेनको बिषयमा भनाभन भएको थियो । सोही विषयमा आवेगमा आएका शेखर र अर्का एक जना मिलेर आफ्नै साथी अशोकलाई कुटपिट गरि हत्या गरेका थिए । हत्यापछि अपराध लुकाउन उनीहरुले अशोकको शव र उनको मोटरसाइल स्थानीय पोखरीमा फालिदिएका थिए ।
मोरङ प्रहरी प्रवक्ता डिएसी मन्जिल मुकारुङका अनुसार सुरुमा अशोकको मृत्यु पोखरीमा डुबेर भएको जस्तो देखिएपनि मोटरसाइकल पोखरी किनारमा भएको र पोखरीमा मृत फेला परेका अशोकको शरिरमा चोट देखिएपछि अनुसन्धान गर्दै जाँदा उनको आफ्नै साथीबाट हत्या भएको खुलेको थियो । यसैले प्रहरीले अशोकको हत्या आरोपमा घटना भएको भोलिपल्ट ९ माघमा शेखरलाई पक्राउ गरेर १० माघमा कर्तव्य ज्यान कसुरमा मोरङ अदालतमा मुद्दा दर्ता गराएको छ ।
फरार अर्का आरोपीको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।







