मकवानपुरमा २५ प्रतिशत स्वास्थ्यकर्मीमा संक्रमण,सबैभन्दा बढी हेटौंडा अस्पतालका

अखबार हब
२०७८ माघ १०, सोमबार १५:५१

मकवानपुर । मकवानपुरमा कार्यरत स्वास्थ्यकर्मीमध्ये २५ प्रतिशतभन्दा बढीलाई कोरोना संक्रमण भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा स्वास्थ्य कार्यालय प्रमुख भीमसागर गुरागाईंले कोरोना संक्रमण र खोपको अवस्थाबारे जानकारी गराउँदै कोरोनाको तेस्रो लहर सुरु भएयता जिल्लामा कार्यरतमध्ये २५ प्रतिशत अर्थात् १ सय २५ जना स्वास्थ्यकर्मी संक्रमित भएको बताएका हुन् ।

उनका अनुसार सबैभन्दा बढी हेटौंडा अस्पतालका ५९ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ । यसैगरी, मनहरी प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका २२ जना, हेटौंडा उपमहानगरपालिकाभित्रका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रका १६ जना, कैलाश गाउँपालिकाअन्तर्गत कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना पाइएको हो । ‘संक्रमित पाइएका १÷२ जना स्वास्थ्यकर्मी त हरेक स्वास्थ्य संस्थामा छन्,’ उनले भने, ‘स्वास्थ्यकर्मी संक्रमित भएका कारणले स्वास्थ्य संस्थामा जनशक्तिको अभाव हुन थालेको छ ।’ जिल्लामा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाउनेको संख्या ८२ प्रतिशत पुगेको छ भने ६१ प्रतिशतले दोस्रो मात्रा लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*