चौकीटोल –रातोमाटे बाइपास सडकमा प्रदेश सरकारको चासो
मकवानपुर। हेटौंडाको चौकीटोल –रातोमाटे बाइपास सडकमा वागमती प्रदेश सरकारको चासो बढेको छ । यो सडक निर्माण समयमानै नहुँदा हेटौंडाको बजार क्षेत्रमा सवारीको चाप निकै बढेको छ ।
बाइपास निर्माणका लागि तत्कालीन एमाले नेतृत्वको सरकारले बजेट छुट्याएर काम सुरु गरिएको थियो । बाइपास सडक निर्माणका लागि प्रदेश सरकारले वर्षेनी लगानी गरेको छ । तर, ठुला भारी सवारीका साधन यस सडक भएर गुड्न नसक्दा हेटौंडाको मुख्य बजारमा ट्राफिक जाम हुने गरेको छ ।
विकास आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्नका लागि वागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अनुगमन कार्यलाई तीव्रता दिएका छन्। यही क्रममा हेटौंडाको चौकीटोलबाट रातोमाटे निस्कने बाइपास सडकको कार्यान्वयनको अवस्था र सो निर्माण गर्नका लागि देखा परेका समस्याहरु र उक्त समस्या समाधानका लागि वागमती प्रदेश सरकार तथा संघीय सरकारले गर्नुपर्ने पहलकदमीका सम्बन्धमा सरोकारवालाहरु सहित निरीक्षण गरेका हुन् ।
निरीक्षण क्रममा बाइपास सडकको रेखाकंन तथा उक्त रेखाकंन अनुसार सडक निर्माण गर्दा अपनाउनु पर्ने सावधानीका सम्बन्धमा छलफल गर्दै सम्बन्धित कार्यालयका कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् । साथै फराकिलो सडक र वैकल्पिक सडक शहरीकरण सँगै आवश्यक भैसकेको अवस्थामा वागमती प्रदेशको राजधानी हेटौंडाको ट्राफिक समस्यालाई समाधान गर्दै शहरीकरणलाई व्यवस्थित गर्दै स्थानीय जनताको आवाज अनुसार समस्या समाधानका लागि संघीय सरकारमा पहल गर्ने बताएका थिए ।







