अलपत्र एमाले मकवानपुर जिल्ला कमिटी : न निर्वाचन, न सपथ

अखबार हब
२०७८ माघ ४, मंगलवार २२:३४

मकवानपुर । नेकपा एमालेले मकवानपुरमा बलमिच्याई गरेर निर्विरोध घोषणा गरेको जिल्ला कमिटी अलपत्र भएको छ । निर्विरोध घोषणा गरिएको एकलाल श्रेष्ठ नेतृत्वको कमिटीले अहिलेसम्म सपथ समेत लिन सकेको छैन ।

२३ पुसमा शुरु भएको ११ औं जिल्ला अधिवेशनमा उम्मेदवारी दर्ता भइसकेको थियो । अध्यक्षमा श्रेष्ठसँगै बद्रीप्रसाद लम्सालले उम्मेदवारी दिएका थिए, नेताहरुले सहमतिको प्रयास पनि गरे । तर, सहमति जुट्न नसकेपछि चुनावी तयारीका लागि २४ गते बिहान ८ बजेसम्म अधिवेशन स्थगित गरिएको थियो ।

तर, भोलिपल्ट जिल्ला इञ्चार्ज तथा अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर रानाले लम्सालको उम्मेदवारी फिर्ता नहुँदै श्रेष्ठको नेतृत्वमा निर्विरोध भएको घोषणा गरे । एमालेका एक नेताका अनुसार रानाले यसरी नामावली घोषणा गर्नु विधान विपरित थियो । भन्छन्, ‘स्थगित प्रक्रियालाई व्यवस्थित रुपमा अघि बढाउने, सहमतिका लागि उम्मेदवारहरुको उम्मेदवारी फिर्ता गराउने लगायत प्रक्रिया नगरीकन नामावली घोषणा गर्न हाम्रो पार्टीको विधानले दिँदैन ।’

लम्सालको उम्मेदवारी कायमै
आफूले उम्मेदवारी फिर्ता नदिएकै अवस्थामा निर्वारोध कमिटी घोषणा गरेपछि लम्सालले विरोध गरे । उनले आफ्नो उम्मेदवार अहिले पनि कायमै रहेको बताए । लम्सालले भने, ‘अन्य कुराहरु हुँदै गर्लान्, तर अहिलेसम्म मेरो उम्मेदवारी कायमै छ । म निर्वाचन प्रक्रियाको पक्षमा छु ।’

विवादपछि केन्द्रीय नेतृत्व वा प्रतिनिधिले आफूसँग कुनै छलफल नगरेको भन्दै लम्सालले संगठन विभाग र निर्वाचन कमिटीको भूमिका कस्तो हुन्छ भनेर हेरिरहेको बताए । विधि, विधान र प्रक्रिया मिचेर गरिने क्रियाकलाप आफूलाई मान्य नहुने उनले बताए । अधिवेशनको आयोजक कमिटीका अध्यक्ष समेत रहेका उनी प्रक्रिया पुरा नभएसम्म पार्टीको अध्यक्ष परिवर्तन नहुने बताउँछन् ।

लम्सालको अडानपछि न मतदान प्रक्रियामा पनि जान सकेको छ, न निर्विरोध घोषणा भएको जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुले सपथ लिन पाएका छन् ।

योगेश भट्टराई भन्छन्–प्रक्रियामा जानै पर्छ
नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई भने अधिवेशनमा प्रक्रिया शुरु भइसकेपछि प्रक्रियाबाटै टुंगो लगाउनुपर्ने बताउँछन् । ‘अध्यक्षका लागि दुइ जनाको उम्मेदवारी परेपछि सर्वसम्मत बनाउन एक जना निर्वाचन प्रक्रियाबाट बाहिरिनुपर्छ, अन्यथा चुनाव हुन्छ,’ उनले भनेका छन् ।
एमाले मकवानपुरका इन्चार्ज तथा अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर रानाले भने निर्विरोध घोषणा भएको श्रेष्ठ नेतृत्वको कमिटी नै आधिकारिक भएको बताए । उनले कोरोना संक्रमणका कारण उनीहरुको सपथ रोकिएको बताए । उनले अघि भने, ‘अन्य कुरा नगरौं, त्यही अनुसार बुझौं ।’ (अनलाइन खबरबाट)

यसमा तपाइको मत

Your email address will not be published.


*