हेटौंडामा बढी मूल्यमा मास्क बेच्ने दुईजना पक्राउ, एक फरार

अखबार हब
२०७८ माघ ४, मंगलवार २१:५१

मकवानपुर । कोरोना महामारीको संकटमा पनि मास्कमा कालोबजारी गरि बढी मुल्यमा बिक्री गर्ने हेटौंडाका दुई औषधि व्यवसायी पक्राउ परेका छन्।

अखबार हबमा बढी मूल्य लिएर मास्क बिक्री गरेको विषयमा समाचार प्रकाशित भएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मकवानपुर प्रहरीलाई कालोबजारी गर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका थिए ।

सीडीओ पाण्डेका निर्देशनपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलवार साँझ दुईजना औषधि व्यवसायी ४० वर्षीय साजित अन्सारी र ३७ वर्षीय बब्लु पाण्डेलाई पक्राउ गरेको हो । वीरगंज महानगरपालिका घर भएका अन्सारीले हेटौंडा उपमहानगरपालिका–१ मा अन्सारी फार्मेसी र महोत्तरी बस्ने पाण्डेले सोही वडामै सक्षम औषधि पसल सञ्चालन गर्दै आएका थिए । उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

यसैगरी मास्कको कालोबजारी गर्ने औषधि पसलका एकजना सञ्चालक फरार भएका छन् । डीएसपी रिमालले सम्पूर्ण औषधि पसलका सञ्चालक पसल नै बन्द गरेर फरार भएको जानकारी दिए । हेटौंडाका मेडिकल र फार्मेसीहरूले कोरोना महामारीको मौका छोप्दै सर्जिकल मास्कमा खुलेआम कालोबजारी गरिरहेका थिए । बढीमा पाँच रुपैयाँसम्म पर्ने सर्जिकल मास्कलाई बजारमा मेडिकल र फार्मेसीहरुले १० रुपैयाँमा खुलेआम बिक्री गरिरहेका छन् ।

यो पनि

आपतमा पनि व्यापारीको आँखा नाफामै, साँढे २ पर्ने माक्सलाई खुलेआम १० रुपैयाँमा बिक्री

यसमा तपाइको मत

Your email address will not be published.


*