राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू
काठमाडौं । माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि आजबाट निर्वाचन आचार संहिता शुरु भएको छ। निर्वाचन आयोगले आजबाट निर्वाचन सम्पन्न नभएसम्म मुलुकभर यो आचारसंहिता लागू हुने जनाएको छ।
आयोगले एक सूचना प्रकाशित गर्दै निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी देहायका व्यक्ति, निकाय तथा अधिकारीलाई यो आचारसंहिता लागू हुने जनायो।
कसकसलाई लाग्छ आचारसंहिता
निर्वाचन आयोगले नेपाल सरकारदेखि स्थानीय तहसम्म यो आचारसंहिता लागू हुने जनाएको छ।

चार वर्षे कार्यकाल अनुसार रिक्त भएको १९ पदमा निर्वाचन हुन लागेको हो। यसका लागि गठबन्धनले आफ्ना सिटहरुलाई यथावत राखेर एमालेका खाली हुने ८ सिटका लागि तालमेल गर्ने निर्णय गरिसकेको छ। एमाले एक्लै चुनावमा जाँदा उसका विरुद्ध सत्ता गठबन्धनका ५ दल छन्। गठबन्धनले १९ सिटलाई बाँडफाँड गरेका छन्। भागबन्डा अनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जसपाले २ र राष्ट्रिय जनमोर्चाले १ ठाउँमा उम्मेद्वारी दिने सहमति भएको छ। १ सिट भने यस पटक पनि मनोनयनबाट पूरा हुनेछ।
निर्वाचनका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखउपप्रमुख मतदाता हुनेछन्। निर्वाचन आयोगका अनुसार ५ सय ३२ प्रदेशसभा सदस्य र १ हजार ४ सय ९३ स्थानीय तहका प्रमुखरउपप्रमुख गरी जम्मा २ हजार २५ जनाले मतदान गर्नेछन्।







