सर्वसम्मतिको नाममा केन्द्रीयता लादियो : बद्री लम्साल
मकवानपुर । सर्वसम्मतिको नाममा एकलौटी ढंगबाट नेतृत्व चयन गरिएको भन्दै एमाले मकवानपुरका अध्यक्षका उम्मेदवार बद्रीप्रसाद लम्सालले आपत्ति जनाएका छन् ।
आफ्नो उम्मेदवारी कायम रहँदा रहँदै सर्वसम्मत नेतृत्व चयनको नाममा अर्का उम्मेदवार एकलाल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित घोषणा गरिएकोप्रति उनले आपत्ति जनाएका हुन् ।
सर्वसम्मतिमा नेतृत्व चयन गर्ने भन्दै शनिबार अधिवेशन स्थगित गरी आइतबार बिहान श्रेष्ठको अध्यक्षतामा एक सय पाँच सदस्यीय जिल्ला कमिटी बनाइएपछि एमाले मकवानपुरमा तीव्र असन्तुष्टि देखिएको हो ।
आइतबार बिहान निर्वाचन मण्डलका अध्यक्षले सर्वसम्मत जिल्ला नेतृत्व चयन भएको घोषणा गरेपछि आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै लम्सालले पार्टीको जिल्ला कमिटी अध्यक्षमा आफ्नो उम्मेदवारी यथावत रहेको जानकारी दिएका हुन् ।
आफ्नो उम्मेदवारी यथावत रहेको भन्दै भ्रममा नपर्न आग्रह समेत गरेका छन् । आफूलगायत केही साथीहरुको उम्मेदवारी कायमै रहँदा पार्टी नेतृत्वले सहमति भएको भन्दै गरिएको घोषणा प्रक्रियाप्रति लम्सालले आपत्ति जनाएको हो ।
‘निर्वाचन कमिटीले विधिपूर्वक निर्वाचन गराउन गइरहेको अवस्थामा नेतृत्वबाट हस्तक्षेप गरी पार्टीको विधान, निर्वाचन निर्देशिका समेतको ठाडो उल्लंघन गरी केन्द्रीयता लादेर गरिएको घोषणाले आम प्रतिनिधिको मनोभावनामा समेत गम्भीर आघात पुगेको छ’, लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उम्मेदवारहरुबीच राजीखुसीले हुने सहमति हुन नसकेको अवस्थामा निर्वाचनबाट नेतृत्व निर्माण स्थापित विधि भएको स्मरण गराउँलदै लम्सालले स्थापित विधि र अभ्यासभन्दा बाहिरबाट लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चँदै गरिएको घोषणालाई मान्यता दिन नसकिने बताएका छन् ।








