युनिलिभर हेटौँडाको ज्यादतीः तौलपुल उखेल्न प्रयोग गरिएको मेसिनले भत्कीयो स्थानीयको घर
मकवानपुर । बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपाल लिमिटेड हेटौंडा–३, बसामाडीले स्थानीयमाथी ज्यादती गरेको छ । उद्योग सञ्चालनको नाउँमा कम्पनीले स्थानीयहरुलाई असर पार्ने खालको क्रियाकलाप जारी राखेपछि स्थानीयवासी आक्रोसित बनेका छन् ।
युनिलिभरले आफ्नो कम्पाउण्डभित्र रहेको तौल पुल भत्काउन प्रयोग गरिएको मेसिनको कारण उद्योगसंगै केहि दिन अघि मात्र निर्माण भएको स्थानीय नरहरी नन्दन बर्तौलाको पार्टी प्यालेस पूर्ण रुपमा क्षति भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरि बर्तौलाले कम्पनीले मेसिन लगाएर तौल पुल भत्काउँदा आफुहरुको संरचनामा खतरा आउने पटक–पटक जानकारी दिँदासमेत उद्योगले जवर्जस्ती मेसिन प्रयोग गर्दा गत पुस १७ गते मात्र उद्घाटन गरिएको पार्टी प्यालेस पूर्ण रुपमा क्षति भएको बताए ।
५० लाख रुपैँयाको लागतमा निर्माण गरिएको पार्टी प्यालेस पूर्ण रुपमा क्षति भएको भन्दै बर्तौलाले उद्योगसँग पूर्ण क्षतिपूर्तिको माग गरेका छन् । विना जानकारी ‘भ्राईबेट मेसिन’ प्रयोग गरिदाँ आफुले दुई वर्ष लगाएर ऋण गरेर निर्माण गरेको पार्टी प्यालेस उद्घाटन भएको तेश्रो दिनमा नै पूर्ण क्षति भएको भन्दै उनले यसबारे उद्योग प्रमुखलाई जानकारी गराउँदा आफुलाई हातपात समेत भएको बताए ।
यसबारे सम्वन्धित वडामा जानकारी दिइसकेको भन्दै उनले युनिलिभरले स्थानीयलाई पटक–पटक ज्यादती गर्दै आएको बताए । युनिलिभर स्थापना हुँदा २६ वर्ष पहिले आफ्नो चार धुर जग्गा कम्पनीको कम्पाउण्ड वालभित्र परेको जानकारी गराउँदासमेत कम्पनीले उक्त जग्गा हालसम्म खाली नगरेको बर्तौलाको भनाई रहेको छ ।
युनिलिभरले मापदण्ड विपरित आम स्थानीयको घर नजिकै यस अघिसम्म ३० टन सम्मको तौल पुल निर्माण गरेर आम स्थानीयलाई समस्यामा पार्दै आएकोमा अहिले उक्त तौल पुल ८० टन क्षमतामा विस्तार गरिदाँ त्यहा रहेका स्थानीयको घरमा दुर्घटना हुने खतरा बढेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।
युनिलिभरले ज्यादती नरोक्ने र क्षति भएका संरचनाको क्षतिपूर्ति नदिने हो भने आफुहरुरुले कडा अन्दोलन गर्ने तयारी गरेको स्थानीयहरुको भनाई रहेको छ ।







