प्रहरीबाटै झारलको सिकार,गाउँलेले भेटेपछि घटना सामसुम पार्ने प्रयास
हुम्ला । मंगलबार दिउँसो २ बजेतिर नाम्खा गाउँपालिका–४ याल्वाङ गाउँभन्दा पारि पुया लेकआसपास बन्दुक पड्केपछि जंगली जनावरको चोरीसिकारी भएको हुन सक्ने भन्दै याल्वाङ र याङ्गारबाट ३० जना स्थानीय तत्काल घटनास्थलतर्फ लागे । १५ जना बन्दुक पड्केको स्थानतर्फ गए । बाँकी गाउँनजिक पुलमा बसे । केहीबेरपछि प्रहरी हवल्दार र दुईजना सिपाहीलाई स्थानीयले पुलनजिकै भेटे । उनीहरू हतियारसहित फेला परेको स्थानीयवासीले बताएका छन् ।
हिउँ टेक्दै घटनास्थलतर्फ लाग्न थालेपछि प्रहरीहरूले ‘केही छैन माथि किन जान लाग्नुभएको’ भनेर फर्काउन खोजेका थिए । जवाफमा स्थानीयले ‘जुत्ताका पाइला भेटियो, तपाईंहरूले सिकार खेल्नुभएको हो’ भनेपछि एक प्रहरीले स्वीकारसमेत गरेका थिए । हिउँ परेको जमिनमा पाइला छिचोल्दै जाँदै पुया लेकनजिकै ढुंगाभित्र जंगली जनावर झारल मारेर पोलेर राखेको फेला पारेको नाम नबताउने सर्तमा एक स्थानीयले बताए । याल्वाङ प्रहरी चौकीमै कार्यरत प्रहरीले झारलको चोरी सिकारी भएको प्रमाण फेला परेको छ । अहिले भने उनीहरूले बयान फेर्न थालेको स्थानीयको भनाइ छ ।
नाम्खा गाउँपालिकामा २० वर्षदेखि जंगली जनावरको चोरीसिकारी गर्न प्रतिबन्ध लगाइएको छ । तर, जंगली जनावरको सुरक्षामा खट्नुपर्ने प्रहरीले चोरीसिकारी गरेको पाइएको छ । प्रहरीले नै झारलको चोरीसिकारी गरेको नाम्खा गाउँपालिका–४ याल्वाङ स्थानीयको आरोप छ । २० वर्षपहिला बौद्ध धर्मगुरु प्रेमा रिक्साल लामाले हिंसा नगर्न प्रवचन दिएसँगै त्यहाँ चोरीसिकारी गर्न प्रतिबन्ध लागेको थियो ।
त्यसैले नाम्खा गाउँपालिकाका स्थानीयले चोरीसिकारी छाडेका छन् । बाहिरबाट सिकार खेल्ने भेटेमा कारबाहीका लागि प्रहरीमा बुझाउने गरेका छन् । पछिल्लो समय जंगली जनावरको चोरीसिकारीको घटना बढे पनि जिल्ला प्रहरी कार्यालय मौन देखिएको छ ।







