विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै उजुरी

अखबार हब
२०७८ पुष २२, बिहीबार ११:००

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेशी क्लस्टरबाट निर्वाचित विनोद चौधरीको पद खारेजीको माग गरी कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको छ।

कांग्रेसको विधान विपरीत चौधरी केन्द्रीय सदस्य बनेको भन्दै सिरहा क्षेत्र ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले बुधबार निर्वाचन समितिमा उजुरी दिएका हुन्। कांग्रेसको विधान, २०१७ ९संशोधन सहित०ले केन्द्रीय पदाधिकारी तथा सदस्यका लागि निश्चित मापदण्ड तोकेको भए पनि चौधरी विधान विपरीत केन्द्रीय सदस्य बनेको उजुरीमा जिकिर गरिएको छ।

निवेदनमा उनलाई केन्द्रीय सदस्य पदबाट हटाई निजको ठाउँमा निकटतम प्रतिस्पर्धी आफूलाई केन्द्रीय सदस्य बनाउन माग गर्दै यादवले निवेदन दिएका छन्। नवलपरासीबाट मतदाता रहेका चौधरी विरुद्ध त्यति वेलै उजुरी दिन खोजेको यादवले जनाएका छन्।

त्यति वेला पार्टीमा उजुरी परेको र त्यसलाई अल्मल्याएर राखेको उनको भनाइ छ। पार्टीले अलमल्याएपछि निर्वाचन समितिमा गएको र समितिले समय सकियो भन्दै उजुरी नलिएको यादवको भनाइ छ।

यादवले भने, “पार्टी लोकतान्त्रिक हो भने लोकतन्त्र र विधानलाई सर्वोपरि मानेर काम गर्नुपर्ने आवश्यकता छ। विधान विपरीत चौधरीलाई निर्वाचित गरिएकाले हटाउनुपर्छ।”

चौधरी २०७४ सालमा नेकपा (एमाले)बाट कांग्रेसमा प्रवेश गरेका थिए। केन्द्रीय सदस्यको उम्मेदवार हुन कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था रहेको यादवले निवेदनमा उल्लेख गरेका छन्।

विधानले नै चौधरीलाई केन्द्रीय सदस्यको उम्मेदवार बन्नबाट रोकेको उनको भनाइ छ। यादवले निवेदनमा भनेका छन्, “मधेशी खुला पदमा निर्वाचित भनिएका विनोद चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नरहेको र निज २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेकाले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ।”

यसमा तपाइको मत

Your email address will not be published.


*