बकैयामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जना मृत्यु भएको छ ।
बुधबार दिउँसो ३ः३० बजेको समयमा कान्तिलोकपथ अन्तर्गत बकैया गाउँपालिका–११ स्थित सिमातमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरिक्षक राजकुमार सापकोटाले बताए । बुधबार ठिंगनबाट हेटौंडातर्फ आईरहेको ना ४ त ६०७५ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खसेको बताइएको छ ।
मृतकमध्ये एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि हेटौंडा ल्याउँदै गर्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरिक्षक सापकोटाले जानकारी दिए। मृत्यु हुने एक जनाको लाईसेन्सबाट कैलालीका मिन बहादुर बुढामगर रहेको परिचय खुलेको प्रवक्ता सापकोटाले बताए । उनले अर्का एक जनाको परिचय नखुलेको बताए ।
घटनाको आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।







