युनिलिभरका म्याद नाघेको ७१ टन चियापति नष्ट

अखबार हब
२०७८ पुष १९, सोमबार २०:३२

मकवानपुर । बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपाल लिमिटेड हेटौंडा–३, बसामाडीमा भेटिएको म्याद गुज्रिएको करिब ७१ टन चियापति नष्ट गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुगमनको क्रममा युनिलिभरमा भेटिएको म्याद गुज्रिएको चियापति नष्ट गर्न दिएको आदेश अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सोमबार नष्ट गरेको हो । हेटौंडा–१०, स्थित डम्पिङ साइडमा सरोकारवाल पक्षको निगरानीमा चियापति नष्ट गरिएको हो । प्रशासन कार्यालयले गतमंसिर १२ गते गरेको फैसला तथा पुस १८ गते निर्देशन अनुसार खाद्य नियमावली २०२७ को दफा ९ (क) बमोजिम चियापति नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए । प्रशासनले दशहजार रुपैयाँ जरिवाना र म्याद नाघेको सामग्री जफत गरी नष्ट गर्ने फैसला गरेको थियो । ‘कम्पनीलाई पुनरावेदन गर्न ३५ दिनको म्याद दिइएको थियो । उहाँहरु पुनारावेदन नगरेपछि नष्ट गरिएको हो ।’, पाण्डेले भने ।

बजार अनुगमनको क्रममा खाद्य प्रविधि कार्यालय हेटौंडाले युनिलिभरको चिया प्रशोधन केन्द्रबाट म्याद गुज्रिएको करिब ७० हजार ९ सय ८० केजी चियापति फेला पारेको कार्यालयका प्रमुख डा. क्षितिज श्रेष्ठले जानकारी दिए । लामो समयको कानुनी लडाईंपश्चात् सरोकारवाला पक्ष चियापति नष्ट गराउन सफल भएका हुन् । युनिलिभरमा उत्पादित चियापति बजारमा म्याद गुज्रिएको अवस्थामा फेला पारेसँगै गतभदौ १५ गते उद्योग अनुगमना गर्दा चिया प्रशोधन केन्द्रबाट म्याद गुज्रिएका, लेवल स्पष्ट नभएका चियापति फेला परेको थियो । गुज्रिएका, लेवल स्पष्ट नभएका चियापत्ति फेला परेपछि उद्योगको चिया प्रशोन केन्द्र प्रशासनले शिलबन्दी गरिएको थियो । युनिलिभरबाट दशवटा ट्रकमा म्याद गुज्रिएको चियापति लोड गरेर नष्ट गर्न डम्पिङ साइडमा ल्याइएको थियो ।

चिया प्रशोधन केन्द्रमा शिल गरिएको चार महिना पछि कार्यालयले चियापति नष्ट गरिएको हो । खाद्य प्रविधि, जिल्ला प्रशासन, हेटौंडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च तथा उद्योग प्रशासनको प्रत्यक्ष निगरानीमा शिलबन्दी खोलेर चियापति नष्ट गरिएको हो । उद्योगले विभिन्न ब्राण्डाका चियालाई प्रशोधन गरेर ‘रेड लेवल’ ब्राण्ड बनाएर विक्री वितरण गर्ने गरेको छ ।

चिया प्रशोधन तथा प्याकिङ्गका लागि उद्योगले विभिन्न ब्राण्डका २ हजार २ सय २८ बोरा चिया प्रशोधन केन्द्रमा भण्डारण गरेर राखिएको थियो । भण्डारण गरिएको चिया मध्ये ३ सय ८५ बोरामा मात्र उपभोग्य मिति तथा अन्य विवरणहरु रहेको पाइएको थियो । उद्योगले प्रशोधनका लागि राखेको २१ किलोका ५०० बोरा र बाँकी ३५ किलोका १ हजार ७ सय २८ बोरा चियापति भने म्याद गुज्रिएको र लेबल तथा अन्य विवरण स्पष्ट नभएको पाइएको थियो ।

युनिलिभर प्रशासनका अनुसार करिब १ करोड ७९ लाख ९० हजार ८ सय ४० रुपैयाँ बराबरको चियापति नष्ट भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*