राष्ट्रिय सभा चुनावमा विद्युतीय भोटिङ कति सम्भव ?
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसँग पुस ९ मा निर्वाचन आयोगले छलफल गर्दा आगामी निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने प्रस्ताव अघि सार्यो । राजनीतिक दलसँगको छलफलबाट सहमति कायम गरी सबै क्षेत्रमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न नसकिए पनि निश्चित क्षेत्रमा प्रयोग गर्ने प्रधानमन्त्रीले बताएको भन्दै आयोगले विज्ञप्ति नै जारी गर्यो ।
तर अहिले आएर आयोगले स्थानीय तहका प्रमुखरउपप्रमुख, प्रदेशसभाका सदस्य मतदाता रहेको राष्ट्रिय सभा निर्वाचन भने कागजी मतपत्रमा मतदान गराउने तयारी थालेको छ ।
मतपत्रमा कुन दलको निर्वाचन चिह्न कहाँ राख्ने भन्ने निर्णयसमेत आयोगले गरिसकेको छ । ‘राष्ट्रिय सभाको निर्वाचनमा अहिलेसम्म मतपत्रबाटै निर्वाचन गराउने तयारी छ,’ आयोगका सहायक प्रवक्ता कोमल धमलाले भने ।
गत जेठमा भएको राष्ट्रिय सभाको लुम्बिनी प्रदेश सदस्यको उपनिर्वाचनमा एक मत बदर भएको र एक मतमा मतदाताको ‘पीसीआर रिपोर्ट’ मात्रै भेटिएको रेकर्ड आयोगसँगै छ । तर आयोगले माघ १२ मा हुने १९ सदस्य चयन गर्ने निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नगरी कागजी मतदान प्रक्रिया नै अवलम्बन गर्न लागेको हो । लुम्बिनीको उपनिर्वाचनमा स्थानीय तहका २ सय १२ जनप्रतिनिधि मतदानमा सहभागी थिए । यसमध्ये १ जनाको मत बदर भएको थियो । अर्को एक मतको सट्टा पीसीआर रिपोर्ट भेटिएको थियो । २ जनाको मत खेर जाँदा ३६ मतभार नोक्सान भएको थियो । ०७४ र ०७६ मा भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि मत बदर भएको थियो ।
स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रदेशसभा सदस्यले गरेको मतदान त बदर हुन्छ भने स्थानीय, प्रदेश र प्रतिनिधिसभामा भएको मत बदरको अनुपातको ग्राफ झन् डरलाग्दो छ । ०७४ को प्रतिनिधिसभाको मतगणनामा १४ हजार १ सय ३४ जना परिचालन गरी मतपरिणाम सार्वजनिक गर्न सात दिन लागेको थियो । १ करोड ५ लाख ९४ हजार मत खसेकामा ५ लाख ४८ हजार ५ सय ७० मत बदर भएको थियो । कुल खसेको मतको ५ प्रतिशतभन्दा बढी मत बदर भएको थियो । प्रदेश र स्थानीयमा पनि यही अनुपातमा मत भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
मत बदर रोक्ने एउटै मात्र उपाय विद्युतीय मतदान भएको विज्ञहरू बताउँछन् । तर दलहरू तयार नहुँदा निर्वाचन आयोगले जोडबल गरेर विद्युतीय मेसिनबाट मतदान गराउन सकेन । भर्खरै भएको राप्रपाको एकता महाधिवेशनमा अध्यक्षको मतदानमा मतपत्र प्रयोग गरिएको थियो भने अन्य पदाधिकारी र सदस्यको मतदान ९१ वटा विद्युतीय मेसिनबाट गरिएको थियो । करिब ३ हजार ८ सयले मतदान गरेकामा अध्यक्षमा मतपत्रमार्फत खसेको मध्ये ४ सय ३१ मत बदर भएको थियो भने विद्युतीय मतदानबाट गरिएको एउटा पनि मत खेर गएन ।
एमालेले पनि चितवन महाधिवेशनमा आफ्नो नेतृत्व छनोट गर्न विद्युतीय मेसिनबाटै मतदान सम्पन्न गर्यो, तत्काल नतिजा थाहा पाए । तर कांग्रेसले मतपत्रमार्फत मतदान गरेकाले सबैको नतिजा आउन १० दिन कुर्नुपर्यो । ‘छिटो नतिजा र विश्वनीयताका लागि पनि विद्युतीय मेसिन उपयुक्त हुन्छ,’ आयोगका प्रवक्ता धमलाले भने । आयोगले यसअघि काठमाडौं क्षेत्र नम्बर १ मा विद्युतीय मेसिनबाटै मतदान गराएको थियो ।
राम–लक्ष्मण इनोभेसनका निर्देशक लक्ष्मण रिमाल पनि राष्ट्रिय सभाको निर्वाचन विद्युतीय मेसिनबाट विश्वसनीय तरिकाले गराउन सकिने बताउँछन् । ‘राष्ट्रिय सभाको निर्वाचन गराउनु ठूलो कुरा होइन, मतदाताले कुन चिह्नमा भोट हाल्यो भन्ने चिट पनि सुरक्षित हुन्छ,’ उनले भने, ‘यदि विद्युतीय मेसिनमा गरेको मतगणनामा चित्त बुझेन भने भौतिक रूपमा चिटबाट गणना गर्न पनि मिल्छ । राष्ट्रिय सभाको मतभारलाई समेत सहजै निकालेर गणना गर्न सकिन्छ । यस विषयमा हामीले आयोगलाई जानकारी गराइसकेका छौं ।’ राम–लक्ष्मण इनोभेसनले नै एमाले र राप्रपा महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनको व्यवस्था मिलाएको थियो ।
राजनीतिक दलले विद्युतीय मेसिनबाट मतदान गरेर आफ्नो नेतृत्व चयनको अभ्यास गरिसक्दा आयोगले यसलाई अंगीकार गर्न हिचकिचाएको विज्ञहरूको भनाइ छ । तर प्रवक्ता धमला भने ‘आयोगले भोटिङ मेसिन प्रयोग गर्नुपर्छ भन्ने नीति नछाडेको’ बताउँछन् । ‘यो छलफलको विषय नै हो, आयोगले प्राथमिकतामा पनि राखेको छ,’ उनले भने, ‘यस विषयमा नीति अध्ययन प्रतिष्ठानले अध्ययन पनि गरेको छ । विद्युतीय मेसिनको बाटोमा जाने हो भने दलहरूको सहमति आवश्यक हुन्छ । सरकारले पनि स्रोत साधन उपलब्ध गराउने हो भने विद्युतीय मेसिनबाट भोटिङ गराउन तयार छौं ।’ विद्युतीय मेसिनबाट मतदान गराउँदा मुलुकको ठूलो धनराशि जोगिने, निष्पक्ष हुने र नतिजा पनि छिटो आउने उनको भनाइ छ ।
मतपत्रमा मतदान गराउँदा बाकस खरिद, मतपत्र छपाइ र ढुवानीमा उत्तिकै खर्च हुन्छ । गणना गर्दा पनि उत्तिकै जनशक्ति र समय खर्च हुन्छ । आयोगले राष्ट्रिय सभामा फागुन २१ देखि रिक्त हुने महिला ७, दलित ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक २, अन्य ७ जनाका लागि माघ १२ मा निर्वाचन गर्न लागेको हो ।







