अझै खुलेन त्रिभूवन राजपथ
मकवानपुर । मकवानपुरको सबैभन्दा उच्च भूभाग दामन सिमभञ्ज्याङमा बुधबार परेको हिउँका कारण अवरुद्ध त्रिभूवन राजपथ अझै खुलेको छैन । दामनदेखि बसीफाँटको मोडसम्म सडकमा हिउँ जमेकाले राजमार्ग अवरुद्ध भएको हो ।
‘सडकमा बाक्लो हिउँ जमेकाले पन्छाउन समय लागिरहेको छ,’ थाहा नगरपालिकाका मेयर लवशेर विष्टले भने ,‘सडक विभाग उपकरण नपठाएकाले राजमार्ग खुलाउन ढिलाई भएको हो ।’दामनदेखि बसीफाँटसम्मको करिब ५ किलोमिटर सडकमा १ फिटदेखि साढे २ फिटसम्म हिउँ जमेको छ ।
बुधबारदेखि नै काठमाडौंबाट आउने सवारी साधनहरु पालुङमा र हेटौंडातर्फबाट गएका सवारी साधनहरु अघोरमा रोकिएका छन् । बिहीबार रातिसम्म एकतर्फी भए पनि राजमार्ग खुलाउने तयारी रहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए ।
राजमार्ग नखुले पनि हिउँ खेल्नेहरु हेटौंडा, चितवन, वीरगन्ज र काठमाडौंबाट दामन सिमभन्ज्याङ पुगेका छन् । दामन सिमभन्ज्याङडाँडा र रुखहरु सेताम्मे भएका छन् । हिउँ परेपछि आन्तरिक पर्यटकहरु बढेकाले स्थानीय होटलवालालाई भ्याइनभ्याई भएको छ । त्यस क्षेत्रका लजहरु शनिबारसम्मलाई बुकिङ भइसकेको व्यवसायी बताउँछन् ।







