हेटौंडा नगरसभा बैठक : चालु आवमा ६० करोड ५४ लाख खर्च
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको दशौँ नगरसभा बैठक आज हेटौंडामा भएको छ । जनप्रतिनिधि आएपछिको यो नगरसभा अन्तिम सभा हो ।
नगरसभा बैठकमा बोल्दै मेयर हरि बहादुर महतले साढे चार वर्षको अवधिमा यस क्षेत्रमा धेरै खालका महत्वपूर्ण काम गरिएको बताए । सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद लगायतका क्षेत्रमा धेरै उदाहरणीय काम भएको मेयर महतले जानकारी दिए ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा खर्च तर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र तर्फ हालको अवधि सम्म ९ करोड ७७ लाख ५४ हजार अर्थात ३४ दशमलब ११ प्रतिशत गरेको उपमेयर मिना कुमारी लामाले सभामा प्रस्तुत गरे । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ १ करोड २ लाख ८९ हजार अर्थात १२ दशमलब ८४ प्रतिशत, पूर्वाधार विकास क्षेत्र तर्फ २० करोड ८२ लाख ५३ हजार अर्थात १६ दशमलब ८८ प्रतिशत, सामाजिक विकास क्षेत्र तर्फ २७ करोड ५० लाख ९७ हजार अर्थात २५ दशमलब ७७ प्रतिशत र आर्थिक विकास क्षेत्र तर्फ १ करोड ४० लाख ४८ हजार अर्थात ९ दशमलब ८९ प्रतिशत समेत कुल ६० करोड ५४ लाख ४३ हजार रुपैयाँ खर्च भएको उनले बताइन् ।
खर्चका हिसाबले हाल सम्म २१ दशमलब ५४ प्रतिशत रकम खर्च भैसकेको अवस्था छ । यस अवधिमा अधिकांश क्षेत्रगत आयोजना तथा कार्यक्रमहरू सम्झौता भई कार्य सञ्चालनको क्रममा रहेको र खर्च भुक्तानी नभई सकेको हुँदा क्षेत्रगत खर्चमा कमी देखिएकोमा असार मसान्तसम्मको अवधिमा यसमा उल्लेखनीय प्रगति हुने अपेक्षा लिएको उनले बताइन् ।
गत २०७८ आषाढमा सम्पन्न नगर सभाबाट आर्थिक वर्ष २०७८/७९ का लागि कूल बजेट २ अर्ब ६० करोड १५ लाख ५२ हजार ९ सय १० रुपैयाँ बराबरको आय व्यय विवरण स्वीकृत भएकोमा गत वर्ष सम्झौता भई जिम्मेवारी सरेका योजना तथा कार्यक्रमहरूको भुक्तानीका लागि थप बजेट व्यवस्थापन सहित नेपाल सरकारबाट समायोजन तथा सरुवा भई आउने कर्मचारी र आन्तरिक व्यवस्थापनबाट करार भएका कर्मचारीहरूको तलब भत्ता लगायत सञ्चालन खर्च एवम् माग भई आएका अन्य अत्यावश्यक कार्यक्रमहरूको लागि आन्तरिक स्रोत व्यवस्थापन गरी संशोधित बजेट २ अर्ब ८५ करोड प्रस्ताव गरिएको छ ।
८ जना सम्मानित
हेटौंडा उपमहानगरपालिकाको १० औं नगरसभामा ८ जनालाई सम्मान गरिएको छ । आज भएको नगर परिषद्को उद्घाटन कार्यक्रममा मकवानपुरका फुटबल खेलाडी अञ्जन विष्ट, सुनिल बल, आयुष घलान र बक्सिङ खेलाडी सुशील घिमिरेलाई २५/२५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
यसैगरी मूर्तिकार लक्ष्मण भुजेल, नेत्र विशेषज्ञ डा. सन्दुक रुइत, हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठ र सामाजिक व्यक्तित्व आयना बार्का न्यौपानेलाई सम्मान गरिएको छ ।







