प्रदेश सरकारको औचित्य छैन, खारेज गरौँ : मेयर महत

अखबार हब
२०७८ पुष १४, बुधबार १८:४३

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रदेश सरकार खारेज गर्नु पर्ने बताएका छन् । मकवानपुरमा कार्यरत पत्रकारका लागि आयोजित सात दिने आधारभुत तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले प्रदेश सरकारको औचित्य नभएकोले खारेज गर्नु पर्ने बताएका हुन् ।

उनले भने ‘ प्रदेश खारेज गरौँ र त्यो बजेट स्थानीय सरकारलाई बिनियोजन गरौँ, म नगरपालिकाको रूख रूखमा बिजुली बाल्दिन्छु ।’ राजनीतिक स्वार्थपूर्ति गर्नकै लागि प्रदेश सरकारमा १४ वटा मन्त्रालय बनाएर मन्त्री र राज्यमन्त्री गरी १८ जनाको मन्त्रिमण्डल बनाइएको भन्दै मेयर महतले प्रदेशको औचित्यमाथि प्रश्न उठाएका छन् । स्थानीय तहको मातहतमा मालपोत र नापी कार्यालय सञ्चालन हुनुपर्ने मेयर महतले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले शासकका विरुद्ध कलम चलाई समाज परिवर्तनमा लाग्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे । गत बिहीबारबाट सुरु भएको तालिम आज समापन भएको हो ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना तथा मकवानपुर शाखाको व्यवस्थापनमा भएको तालिममा मकवानपुरका ४० जना पत्रकारहरूको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*