महामन्त्रीमा हारबारे प्रकाशशरण महतको समीक्षाः ज्योतिषले भनेजस्तै भयो

अखबार हब
२०७८ पुष ९, शुक्रबार १७:०८

काठमाडौं । नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पार्टीको महामन्त्री पदमा आफ्नो पराजयबारे पार्टीका नेताहरुले समीक्षा गर्ने बताएका छन्। पार्टी सभापतिमा दोहोरिएका शेरबहादुर देउवाकै टिमबाट महामन्त्रीको उम्मेद्वार रहेका महतले चुनावी हारमा आफ्नो पनि कमजोरी रहेको स्वीकारे।

कांग्रेस महाधिवेशनको मतपरिणाम सार्वजनिक भइसकेपछि शुक्रवार राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले यस्तो बताएका हुन्।

सभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यमा देउवा पक्षले एकलौटी जित निकाल्दा तपाई पराजित हुनुभयो। यसको कारण के होला ?

सञ्चारकर्मीको प्रश्नमा महतको जवाफ थियो, ‘परिणाम सबैलाई थाहै छ। यसबारे थप टीका टिप्पणी गर्न म चाहन्नँ। अनपेक्षित मलाईमात्रै लागेको होइन। साथीहरूले पनि सोधेका छन्,’ महतले भने।

गगन र विश्वप्रकाश जिताउन देउवा टिममै घात, प्रकाशशरणलाई हराउन ‘टाउको’लाई मात्रै भोट माग्ने को–को ?
टिममै घात भएको भन्ने कुरा छ नि ? सञ्चारकर्मीले थप प्रश्न गरे।

‘मेरै कमजोरी पनि होला। समूहमा अन्तर्घात भएको कुरा मैले भन्ने होइन। यो पार्टीका साथीहरुले समीक्षा गर्ने कुरा हो,’ महतले भने, ‘म पार्टीलाई प्राथमकितामा राखेर काम गर्ने मान्छे हुँ।’

महामन्त्रीमा पराजित हुँदैमा राजनीतिबाट पलायन नहुने उनले बताए। ‘सुखदुःखमा साथीहरुले साथ दिनु भएको छ। उहाँहरुले पनि सोध्नु भएको छ। उहाँहरुको भावनालाई पनि प्रतिनिधित्व गर्नुपर्छ मैले। निराश भएर पलायन हुँदिनँ,’ महतले भने, ‘पदमा भए पनि नभए पनि म सक्रिय रहन्छु। थप ऊर्जासाथ पार्टीमा लाग्छु।’

वाहवाही दीर्घकालका लागि घातक

महामन्त्रीमा पराजित भएपछि महतले आफू व्यक्तिवादी कुरा र वाहवाहीको पछि नलागेको र अब पनि नलाग्ने बताए। ‘संसार यस्तै रहेछ र वाहवाहीकै दिन रहेछ’ भनेर त्यसैको पछि नलाग्ने उनको भनाई थियो।

‘म वाहवाहीको पछि लागिनँ। यस्तो गर्दिनँ पनि। कतिपय कुरा तत्काल राम्रो पनि लाग्छ। तर, दीर्घकालमा त्यसको परिणाम अत्यन्त नकारात्मक हुन्छ। अवसर पाउनेबित्तिकै हामफालिहाल्नेमा पर्दिन्,’ महतले थपे, ‘मलाई आत्मासन्तुष्टि छ।’

पराजयले थप ऊर्जा दिएको उनको दाबी थियो।

‘पराजयले थप ऊर्जा दिएको छ। राजनीतिक जीवनमा अस्ताउनेवाला छैन। सुखदुस्ख देखेकै मान्छे हुँ। पदप्राप्ति हुँदैमा खुशी हुने र नपाएको भन्दैमा दुःखी भएर हिँड्ने गर्दिनँ,’ उनले भने।

व्यक्तिभन्दा पनि पार्टीको आस्थालाई प्रचारमा लैजान कटिबद्ध भएर लाग्ने महतले बताए। ‘म पार्टी बनाउने कुरा गर्छु। किन प्रचारमा कमी कमजोरी छ ? हामी व्यक्तिवादी भएका छौं। विचारलाई प्रमोट गर्दैनौं। आस्थालाई प्रमोट गर्दैनौं। संगठन निर्माणको लागि त्याग गर्नुपर्छ। त्यो बहस भएन भने राम्रो हुँदैन,’ महतले भने, ‘मैले शेरबहादुरजीसँग भित्र पनि आलोचना गरे। बाहिर आफ्नो मार्केटिङ गर्ने ट्रेडिसनबाट म आएको होइन। अप्ठेरो आउँदा लुकेर बस्ने गरिनँ। मेरो मुल कुरा पार्टी नै हो। व्यक्तिको हारसँग मैले केही सोचेको छैन।’

पार्टी सप्रे व्यक्ति सप्रिन्छ

आफ्नो संस्कार पार्टी, विचार र आस्थाको भएको उल्लेख गर्दै महतले कुनै व्यक्ति आउँदैमा पार्टी बन्ने भन्ने कुरा नहुने बताए।

‘अहिले व्यक्तिवादी जमाना छ। कुनै व्यक्ति आउँदमा पार्टी बन्ने र नआउँदा समाप्त हुने भन्ने हुँदैन। एकाध व्यक्ति आउने वित्तिकै पार्टी रुपान्तरित हुने भन्ने डिस्कोर्स आएको छ। सञ्चार माध्यममा पनि त्यही देख्छु। त्यो ‘फल्स’ हो। ‘फल्स’ प्रमाणित हुन्छ। कसैको उपस्थित हुनेबित्तिकै रातारात चारचाँद हुन्छ भन्ने हुँदैन,’ उनले भने, ‘म आफूलाई केन्द्रबिन्दुमा राखेर काम गर्दिनँ। पार्टीको ग्रोथ भयो भने हाम्रो पनि ग्रोथ हुन्छ। त्यो भए हामी ठूलो पार्टी हुन्छ।’

कुनै बेला नेविसंघको अध्यक्ष बन्न समेत रोकिएको प्रसंग उल्लेख गर्दै सञ्चारकर्मीले प्रश्न गरेपछि महतले ज्योतिषीय प्रसंग समेत उठाए। भने, ‘तर ज्योतिषीय मान्यतामा के रहेछ भने म कात्तिकमा जन्मेको मान्छे हरेक चिज अत्यन्त मुश्किलले प्राप्त हुने। जुनबेला क्लाइमेक्समा पुगेपछि बिग्रने। यसपाला त्यस्तै भयो।’

यसमा तपाइको मत

Your email address will not be published.


*