मकवानपुर प्रहरीद्वारा ३० किलो ५०० ग्राम गाँजासहित २ जना पक्राउ
मकवानपुर । हेटौंडाबाट ३० किलो ५०० ग्राम लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धनुषा नगराईन नगरपालिका वडा नम्वर–२ निवासी ३४ बर्षीय सुबोध मण्डल र पर्सा पटेरवा सुगौली गाउँपालिका वडा नम्वर–३ निवासी बर्ष ३९ को मुकेश राउत थारु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।
शुक्रबार इलाका प्रहरी कार्यालय पशुपतिनगर र रातोमाटे प्रहरी चेकपोष्टबाट खटिएको संयुक्त प्रहरी टोलीले विहान ७ः३० बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१५ स्थित सडकखण्ड हुँदै हेटौंडाबाट वीरजंजतर्फ जाँदै गरेको भारतीय नम्वर प्लेट एन एल ०१ सि ३६५४ नम्वरको स्कार्पिओ गाडी रोकी चेकजाँच गर्ने क्रममा गाँजा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले उक्त गाडीको पछाडी पट्टिको सिट मुनि लुकाई छिपाई राखिएको ३ पोका ३० किलो ५०० ग्राम लागुऔषध गाँजा फेला पारेपछि चालक मण्डल र सोही गाडिमा सवार राउत थारुलाई पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान अधि बढाइएको जनाएको छ ।
प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणको कार्यमा सक्रियता बढाएको छ । पक्राउ परेकाहरु अधिकाँश भरिया रहेका छन् । प्रहरीले गाँजासहित भरियालाई पक्राउ गरेर मुद्धा चलाउने कार्य गर्दै आइरहेको छ । तर, घटनाबारे विस्तृत अनुसन्धानको कार्यमा प्रहरीको सक्रियता न्यून देखिन्छ ।







