पूर्वाधारको बिग्रेको गाडी समेत नछाड्ने पूर्वमन्त्री ढुंगेल

अखबार हब
२०७८ पुष ७, बुधबार १२:१२

मकवानपुर । बागमती प्रदेश सभाको बैठकमा सहभागी हुन हेटौँडा आउदा माननीयज्यूहरुलाई कति कष्ट छ भनेर प्रमाण दिनुभएको छ रामेछापका कैलाश ढुंगेल र शान्तिप्रसाद पौडेलले । उहाँहरु प्रदेश सभा बैठकमा जान मंगलबार पूर्वाधार कार्यालय रामेछापको गाडी लिएर हेटौँडा आउनु भएपछि एमालेमै पनि बदनामीको घाउ किन कोट्याएको भनेर आलोचना भएको छ ।

कार्यालयको वा २ झ ४५२१ नम्बरको गाडीमा प्रदेशका पूर्व अर्थमन्त्री ढुंगेल र सांसद पौडेल आउनु भएको हो । कार्यालय स्रोतका अनुसार यसअघि पनि ढुंगेलले पूर्वाधारको गाडी निस्फिक्री दुरुपयोग गरिरहनु भएको थियो । यसपटकको कथा झन फरक छ ।

गाडी बिग्रिएर बनाउनु पर्ने भएको थियो । एउटा फित्ता नै फेर्नु पर्ने गाडी भन्दा पनि ‘मान्यज्यू’ले हेटौँडा पुर्याउन खुरन्धार गरेपछि दिउँसो २ बजे इन्धन भरेर गाडी हेटौँडा आएको थियो । राति ९ बजे दुई माननीयलाई हेटौँडा पुर्याएर गाडी बुधबार बिहानै काठमाडौँको ग्यारेज पुर्याइएको छ । यो कुरा पूर्वाधार कार्यालय स्रोतले पुष्टि गरेको छ ।

यता, ढुंगेलले सरकारी गाडी दुरुपयोग गरेको र आज प्रदेश सभामा आउदा तस्बिर खिच्ने भनेर बसेका पत्रकारहरु भने गाडी काठमाडौँ पुगेकाले हिस्स पर्ने भएका छन् ।

केपी शर्मा ओली पक्षधर प्रदेश सरकारका अर्का मन्त्री प्रदीप कट्वालले पनि ७२ दिनमा मन्त्री छाड्नु पर्दा सिन्धुली जान सचिवलाई गाडी मागेको चर्चा हेटौँडामा भएकै हो । दुई–दुईपटक प्रदेश मन्त्री भएका केशव पाण्डेलाई इंगित गर्दै नुवाकोटमै हालका स्वास्थ्यमन्त्री विरोध खतिवडाले हेटौँडाको चोकचोकमा मन्त्रीको सोमरसको उधारो छ भन्ने सुनिन्छ भनेपछि एमालेका नुवाकोटका माननीय तथा अध्यक्ष नारायण खतिवडाले आपत्ति जनाउनु भएको विषय पनि हेटौँडा र नुवाकोटमा कम चर्चाको विषय बनेको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published.


*