समुन्नत महिला बहुउद्देश्यीय सहकारी निजगढद्वारा गार्मेन्ट उध्योग संचालन
बारा । समुन्नत महिला बहुउद्देश्यीय सहकारी निजगढले गार्मेन्ट उद्योग संचालनमा ल्याएको छ । सहकारीले संचालनमा ल्याएको गार्मेन्ट उद्योगको सोमबार निजगढका मेयर सुरेश कुमार खनालले उद्घाटन गरेको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खनालले गार्मेन्ट उद्योग मार्फत नगरभित्र रोजगारीको अवसर सृजना गराउने उद्देश्यले नगरपालिकाले समेत उद्योग संचालनकै लागी सहकारीलाई आर्थिक सहयोग उपलब्ध गराएको जनाए ।
सिप र क्षमताको स्तरोन्नती गराउंदै प्रोत्साहन स्वरूप नगरपालिकाले अन्य सहकारीहरूलाई पनि आवश्यकताको आधारमा सहयोग गरेको बताउदै खनालले सहकारीहरूले सहकारीमा आबद्ध भएकाहरुलाई रोजगारमूलक र आर्थिक उपार्जन हुने खाल्का योजनाहरु संचालन गर्न आग्रह गरे । निजगढको लिचिटोलमा स्थापित गार्मेन्ट उद्योगको शुरुवाती लागत २० लाख रुपैंया रहेको जनाइएको छ ।
गार्मेन्ट उद्योगमा अहिले ६ जनालाई प्रत्यक्ष रोजगार प्रदान गरिरहेको सहकारीकी अध्यक्ष कल्पना खरेलले बताइन् । कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन कुमार कार्र्की, वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर लामा, वडा नम्बर १० का वडा अध्यक्ष पदम बहादुर मोक्तान, स्थानीय महिला समाजसेवी माला लामा, नवराज तिमल्सिना लगायतको सहभागित रहेको थियो ।







